काठमाडौं, माघ १२ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीले नेताहरूलाई गरेको कारबाहीको विरोध गरेका छन् । खनालले हरिबोल गजुरेलसहित सात जनालाई स्पष्टीकरणको समेत मौका नदिई कारबाही गरेको भन्दै सामाजिक सञ्जालमार्फत पार्टी नेतृत्वप्रति सन्तुष्टि पोखेका हुन् ।
उनले हरिबोलको कारबाहीको विषयलाई जोडेर पार्टीको असन्तुष्टीसमेत सार्वजनिक गरेका छन् । पार्टी एकता भएको लामो समय बिते पनि संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला निर्णयहरूमा आफूहरूसँग छलफल नगरेको गुनासो उनले गरेका छन् ।
उनले भनेका छन्, ‘एकीकरण घोषणा भएको यति लामो समयपछि पनि नेपाली कम्युनिस्ट पार्टीभित्र नै नेतृत्वदायी कमिटी नै बन्न नसक्नु, संस्थागत निर्णय प्रक्रिया विकसित नहुनु, एकाध व्यक्तिहरूको इच्छाबमोजिम ठूलठूला निर्णयहरू गर्न थालिनु, यहाँसम्म कि कमरेड हरिबोल गजुरेलजस्ता वरिष्ठ नेताहरूमाथि स्पष्टीकरण दिने मौका पनि नदिकन पार्टीबाट निष्कासनसम्मको कठोर कारबाही हुनु, विभिन्न घटकबाट आएका नेताहरूलाई संस्थागत रूपमा जानकारीसम्म पनि नहुनु र एकैचोटी सार्वजनिक सञ्चारमाध्यमबाट थाहा पाउनु आश्चर्यजनक घटनाहरू भएका छन् ।’
खनालले हरिबोलको कारबाही तत्काल फिर्ता गर्न अनुरोधसमेत गरेका छन् । साथै, उनले पार्टीका निर्णयहरूमा संस्थागन छलफल र समीक्षा नभए एकता विभाजन हुने चेतावनीसमेत दिएका छन् ।




प्रतिक्रिया