‘युवामैत्री कानून निर्माण,महिलालाई आसन,भाषण र शासनमा स्थापित गर्न संसदमा आवाज उठाउनेछु’


काठमाडौँ, १७ माघ । नेकपा एमाले केन्द्रीय सदस्य तथा ओखलढुंगाकी उम्मेदवार अस्मिता थापाले युवा र महिलाको प्रतिनिधित्व गर्दै अबको संसदमा युवामैत्री कानून बनाउन आफ्नो आवाज संसदमा लैजाने प्रतिबद्धता जनाएकी छिन् ।

ओखलढुंगा काठमाडौं सम्पर्क मञ्चले शनिवार काठमाडौंमा आयोजना गरेको चुनावी भेलालाई सम्बोधन गर्दै उनले एमालेले समयको पदचाप बुझेर युवालाई उम्मेदवार बनाएको बताइन् । उनले महिलालाई आसन,भाषण र शासनमा पुर्याउने अभियानको नेतृत्व आफूले गर्ने समेत दावी गरिन् ।

थापाले भनिन्, “मैले स्थानीय तहमा पनि केही समय काम गरेर जनताको भावना बुझेकी छु । भाषण गरेर होइन कामबाटै प्रमाणित हुन चाहान्छु। युवाको आवाज बनेर युवामैत्री नीति नियम बनाउन मेरो भूमिका र आवाज हुने । युवालाई साइबर सेना होइन साइबर क्याफे चलाउने सक्षम र योग्य बनाउन मेरो भूमिका हुने ।”

उनले जनताको कर जनताकै सेवा र विकासमा लगाउनुपर्छ भन्ने आफ्नो मान्यता रहेको भन्दै उनले जिल्लाका प्राकृतिक स्रोत र वन जंगललाई नीति बनाएरै आयआर्जको माध्यम बनाउन आफू अग्रसर हुने आश्वासन समेत दिइन् ।

आफू राजनीतिमा रहरले आएको भन्दै थापाले अवकाशपछि राजनीति होइन उत्साह र युवा उमेरमै आफ्नो क्षमतामार्फत जनताको सेवा गर्न अघि बढेको बताइन् ।

थापाले भनिन्, “तपाईहरुले दिएको मत मैले कुनै लोभलालचमा परेर गलत कार्यमा प्रयोग हुन दिनेछैन । आज जसरी तपाईहरुसँग आँखामा आँखा जुधाएर मत मागिरहेकी छु भोलि त्यसैगरै आँखा जुधाएर इमान राखेर असल छोरी प्रमाणित गर्नेछु । आरोप लगाउनेले एमाले अध्यक्षको खल्तिबाट उम्मेदवार बनेको भनेका छन्,ठिकै छ अब त्यो व्यक्तित्वसँगको मेरो पहुँचलाई आफ्नो लागि होइन ओखलढुंगाको विकासका लागि प्रयोग गर्नेछु ।”

एमाले उम्मेदवार थापाले जिल्लाका सडकहरुको अवस्था नाजुक रहेको र पटकपटक दबाब दिँदा पनि विगतमा काम नभएकोले अब माग गर्ने होइन नेतृत्व गर्ने ठाउँबाट काम गर्ने बताइन् ।

उनले भनिन्, “म स्थानीय तहको जनप्रतिनिधि हुँदै गर्दा पनि ओखलढुङ्गाको पश्चिमी भेग रामेछापसँग सीमाना जोडिएको छ, त्यो सडक वर्षौँदेखि अलपत्र हुँदा ओखलढुङ्गाले धेरै दुख पाएको छ, यो विषयमा तत्कालीन मन्त्रीहरूलाई जानकारी गराउँदा काम भएन, अब ओखलढुङ्गा आफैँले नेतृत्व गरेर सिमानाका सडकहरू निर्माण गर्दै पालिका पालिकामा कालोपत्रे गर्ने गरी अगाडि बढ्नेछौँ।”