सियोल, २५ माघ । उत्तर कोरियाले यस महिनाको अन्त्यतिर सत्तारूढ वर्कर्स पार्टीको प्रमुख राजनीतिक सम्मेलन आयोजना गर्ने भएको राज्य मिडियाले आइतबार जनाएको छ । उक्त सम्मेलनमा नेता किम जोङ उनले आगामी पाँच वर्षका लागि आन्तरिक तथा विदेश नीतिका प्रमुख लक्ष्य र दिशा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।
कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार किमको उपस्थितिमा पार्टीको राजनीतिक ब्युरोको बैठक बसेको थियो र फेब्रुअरीको अन्त्यमा सम्मेलन गर्ने निर्णय गरिएको हो । यद्यपि सम्मेलनको ठ्याक्कै मिति र एजेन्डाबारे तत्काल विवरण सार्वजनिक गरिएको छैन ।
किमले यसअघि सन् २०१६ र सन् २०२१ मा यस्तै कंग्रेस आयोजना गरेको थियो । पछिल्ला वर्षहरूमा उत्तर कोरियाले तीव्र रूपमा आणविक र क्षेप्यास्त्र कार्यक्रम विस्तार गरेको छ भने युक्रेन युद्धपछि रुससँगको सम्बन्ध गहिरिँदा संयुक्त राज्य अमेरिका र दक्षिण कोरियासँगको तनाव बढेको छ ।
विश्लेषकहरूका अनुसार सम्मेलन किमको अधिनायकवादी नेतृत्वको कडाइका साथ नियोजित प्रदर्शन हुने सम्भावना छ र केही दिनसम्म चल्न सक्छ । हालै किमले हतियार परीक्षणको निरीक्षण गर्नुका साथै सैन्य र आर्थिक परियोजनाहरूको भ्रमण गरेको छ, जसलाई राज्य मिडियाले सैन्य क्षमता सुदृढीकरण र विकासमा उहाँको नेतृत्वसँग जोडेर प्रस्तुत गरेको छ ।
किमले सम्मेलनमार्फत आत्मनिर्भरता र जन परिचालनमा आधारित आर्थिक विकासलाई तीव्र बनाउने योजना तथा आणविक क्षमतायुक्त सेनालाई थप विस्तार गर्ने नीति घोषणा गर्ने अनुमान गरिएको छ । यसमा परम्परागत हतियार प्रणालीको आधुनिकीकरण र तिनलाई आणविक क्षमतासँग एकीकृत गर्ने कार्यक्रम समावेश हुन सक्छ ।
विज्ञहरूका अनुसार किमले मस्को र बेइजिङसँगको नजिकको सम्बन्धमा आधारित कडा विदेश नीति पनि जोड दिनेछन् । किमले तथाकथित ‘नयाँ शीतयुद्ध’ को धारणा अघि सार्दै दक्षिण कोरियाप्रति अझ कडा दृष्टिकोण लिन सक्ने सम्भावना छ ।
संयुक्त राज्य अमेरिकासँग कूटनीति पुनः सुरु गर्ने किमको इच्छाबारे स्पष्टता छैन । सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको दोस्रो शिखर वार्तापछि प्रतिबन्धको विषयमा असहमति बढेपछि सम्बन्ध बिग्रिएको थियो । ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेपछि प्रस्तावित संवादलाई किमले अस्वीकार गर्दै वासिङ्टनले उत्तर कोरियाको आणविक निरस्त्रीकरणको माग त्याग्नुपर्ने अडान दोहोर्याएको छ ।
आफ्नो शासनकालको १५औँ वर्षमा प्रवेश गरेका किम सन् २०२१ को अघिल्लो कंग्रेसको तुलनामा अहिले बलियो अवस्थामा देखिनुहुन्छ । दक्षिण कोरियाली विश्लेषकहरूका अनुसार चीनसँगको व्यापारमा क्रमिक सुधार र रुसलाई हतियार आपूर्तिबाट प्राप्त आम्दानीका कारण उत्तर कोरियाको अर्थतन्त्र पछिल्ला वर्षहरूमा केही सुधार भएको सङ्केत देखिएको छ । रासस




प्रतिक्रिया