हनोई, ३ फागुन । भियतनामले स्याटेलाइट इन्टरनेट सेवा विस्तारको दिशामा महत्त्वपूर्ण कदम चाल्दै एलन मस्कको कम्पनी स्टारलिङ्कलाई देशभित्र औपचारिक रूपमा सञ्चालन अनुमति प्रदान गरेको छ । सरकारी रेडियो फ्रिक्वेन्सी नियामक निकायले कम्युनिस्ट शासन व्यवस्था भएको यस देशमा स्टारलिङ्कको स्थानीय एकाइ ‘स्टारलिङ्क सर्भिसेज भियतनाम कम्पनी’ लाई आवश्यक इजाजतपत्र जारी गरिएको जनाएको हो ।
रेडियो फ्रिक्वेन्सी व्यवस्थापन प्राधिकरणका अनुसार कम्पनीले प्रारम्भिक चरणमा चारवटा गेटवे स्टेशन स्थापना गर्न र अधिकतम छ लाख टर्मिनल उपकरण परिचालन गर्न सक्नेछ । प्राधिकरणले विद्यमान रेडियो सञ्चार सञ्जालहरूमा कुनै किसिमको हस्तक्षेप नहोस् भन्ने सुनिश्चित गर्न लाइसेन्स अनिवार्य गरिएको स्पष्ट पारेको छ ।
सरकारी निकायले स्टारलिङ्क प्रणालीले देशभर स्याटेलाइटमार्फत इन्टरनेट पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । विशेषतः ग्रामीण र पहाडी क्षेत्रहरूमा सेवा पहुँचको अन्तर घटाउने अपेक्षा गरिएको छ, जहाँ हालसम्म विश्वसनीय इन्टरनेट सेवा सीमित रहेको छ ।
स्टारलिङ्कले हजारौँ कम–पृथ्वी कक्षीय उपग्रहहरूको प्रयोगमार्फत दुर्गम र सेवा–विहीन क्षेत्रहरूमा उच्च गतिको इन्टरनेट उपलब्ध गराउँदै आएको छ । भियतनाम इन्टरनेट नेटवर्क सूचना केन्द्रका अनुसार झण्डै १० करोड जनसङ्ख्या रहेको भियतनाममा करिब ८० प्रतिशत नागरिक इन्टरनेट प्रयोगकर्ता भए पनि भौगोलिक असमानताका कारण पहुँचमा फरक देखिन्छ ।
मस्कद्वारा स्थापित मूल कम्पनी स्पेसएक्सले यसबारे एएफपीको प्रतिक्रिया अनुरोधमा तत्काल कुनै टिप्पणी गरेको छैन । अमेरिकास्थित स्टारलिङ्कको वेबसाइटमा भियतनाममा सेवा ‘चाँडै उपलब्ध हुने’ उल्लेख गरिएको छ ।
यस विकासक्रमलाई भियतनाम–अमेरिका व्यापार सम्बन्धको पृष्ठभूमिसँग पनि जोडेर हेरिएको छ । गत वर्ष वासिङ्टनले भियतनामी वस्तुमा २० प्रतिशत कर लगाएपछि दुवै देशबीच व्यापार सम्झौताका लागि वार्ता चलिरहेको छ । यसै महिनामा छैटौँ चरणको वार्ता सम्पन्न भए पनि अन्तिम सहमति हुन सकेको छैन ।
स्रोतहरूका अनुसार भियतनामका शीर्ष नेता टो लाम यसै साता राष्ट्रपति डोनाल्ड ट्रम्पको अध्यक्षतामा गठन गरिएको ‘शान्ति बोर्ड’ को बैठकमा सहभागी हुन संयुक्त राज्य अमेरिका जाने तयारीमा हुनुहुन्छ । उक्त बोर्ड सुरुमा गाजा पट्टीको पुनर्निर्माणको निरीक्षणका लागि स्थापना गरिएको भए पनि यसको कार्यक्षेत्र विस्तार भएको देखिन्छ । पहिलो बैठक फेब्रुअरी १९ मा वासिङ्टनमा हुने तय भएको छ ।
लामले ट्रम्पसँग व्यापार वार्ताबारे छुट्टै छलफल गर्ने कि नगर्ने स्पष्ट भएको छैन र भियतनाम सरकारले भ्रमणको औपचारिक पुष्टि गरेको छैन ।
दक्षिणपूर्वी एसियाली उत्पादन केन्द्रका रूपमा उदाएको भियतनामले गत वर्ष आठ प्रतिशत आर्थिक वृद्धि हासिल गरेको थियो । यद्यपि अमेरिकी करले निर्यातमुखी वृद्धि मोडेलमा दबाब सिर्जना गरेको विश्लेषण गरिएको छ । हनोईले यस वर्ष दोहोरो अङ्कको आर्थिक वृद्धिको लक्ष्य लिएको छ र डिजिटल पूर्वाधार विस्तारलाई त्यस लक्ष्यसँग जोडिएको महत्त्वपूर्ण रणनीतिका रूपमा हेरिएको छ । रासस




प्रतिक्रिया