बुवाको काजकिरिया सकेर कोठामा फर्किए लगत्तै इन्जिनियरको हत्या


काठमाडौं, फागुन ४। सर्लाही सदरमुकाम मलङ्गवामा आइतबार बेलुका गोली प्रहार गरी इन्जिनियरको हत्या भएको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

जिल्ला पूर्वाधार कार्यालय मलङ्गवामा कार्यरत इन्जिनियर ३६ वर्षीय प्रमोदकुमार यादवलाई आइतबार बेलुका ८ बजेतिर मलङ्गवा नगरपालिका १० स्थित डेरामा अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या गरेका थिए । मृतक इन्जिनियर यादवको घर भने सिराहाको सुखीपुर नगरपालिका ६ वैशाखा हो ।

प्रहरीका अनुसार इन्जिनियर यादव आइतबार दिउँसो मात्र भर्खरै निधन भएका बाबुको काजकिरिया सकेर मलङ्गवा फर्किएको पाइएको छ । “उहाँको बुवा बितेपछि काम सकेर आइतबार दिउँसो २-३ बजेतिर मात्र मलङ्गवा आएको भन्ने बुझिएको छ,” सर्लाही प्रहरीका प्रमुख योगेन्द्रकुमार खड्काले भने, “घरबाट फर्किए लगत्तै घटना भएको देखिन्छ । यसबारेमा थप बुझ्ने काम हुँदै छ ।”

स्थानीयका अनुसार मोटरसाइकल चढेर आएका दुई जना मानिसले इन्जिनियर यादवलाई कोठाबाहिर बोलाएर नजिकैबाट गोली प्रहार गरेका हुन् । यादवको छातीमा गोली प्रहार भएको छ । इन्जिनियर यादवमाथि गोली प्रहार हुनुको कारण खुल्न सकेको छैन् । इन्जिनियर यादव श्रीमती र दुई वर्षकी छोरीसँगै मलङ्गवामा कार्यालय नजिकै डेरा गरेर बस्दै आएका थिए।

मलङ्गवाबाट नेपाल–भारत सीमा नजिकै पर्ने भएकाले गोली प्रहारमा संलग्न व्यक्ति भारततर्फ फरार भएको हुन सक्ने आशङ्का गरिएको छ । प्रहरीले अब आज घटनास्थल वरपरको सिसिटिभी फुटेज सङ्कलन गरेर थप अनुसन्धान अघि बढाउने तयारी गरेको छ ।