देउखुरी (दाङ) १४ फागुन । दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले )का महासचिव शंकर पोखरेलले आफू निर्वाचित भएमा पाँचवर्ष भित्र गर्ने पाँच संकल्प सार्वजनिक गरेका छन् ।
उनले आर्थिक, शैक्षिक, स्वास्थ्य, प्रविधि र सुशासनका पाँच क्षेत्रमा रूपान्तरण ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् । पोखरेलले ‘पाँच वर्षमा पाँच क्रान्ति’ शीर्षकको संकल्प आज यहाँ सार्वजनिक गरे । उक्त संकल्पमा रोजगारी सिर्जना, सडक, सिँचाइ र उद्योग विस्तारमार्फत आर्थिक तथा पूर्वाधार क्रान्ति अघि बढाउने योजना प्रस्तुत गरेका छन् ।
गुणस्तरीय शिक्षा र सीपमूलक कार्यक्रमसँगै डिजिटल शिक्षाको विस्तारलाई प्राथमिकता दिने उनको संकल्पमा उल्लेख छ । स्वास्थ्य सेवामा सहज र गुणस्तरीय उपचार, आधुनिक उपकरणसहितका अस्पताल र गाउँगाउँमा विशेष स्वास्थ्य सेवा उपलब्ध गराउने संकल्पमा भनिएको छ ।
पोखरेलले आफ्ना संकल्प सार्वजनिक गर्दै दाङलाई आर्थिक, सामाजिक र प्रशासनिक दृष्टिले नमूना जिल्लाको रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् । उनले अब दाङ जिल्लाको जनप्रतिनिधिका रूपमा रास्ट्रिय राजनीतिमा भूमिका निर्वाह गर्न चाहेको बताए । उनले भने, “अब दाङबासी ज्ञापनपत्र बुझाउने ठाउँमा होइन बुझ्ने ठाउँमा हुनुपर्छ ।” रासस





प्रतिक्रिया