जापानमा जन्मदर दशकदेखि ओरालो


टोकियो, १४ फागुन ।  जापानमा सन् २०२५ मा जन्मेको शिशुको सङ्ख्या लगातार दशौँ वर्ष घटेको तथ्याङ्क सार्वजनिक भएको छ, जसले देशको घट्दो जनसङ्ख्या र श्रम सङ्कटलाई थप गम्भीर बनाएको छ । प्रारम्भिक स्वास्थ्य मन्त्रालयको विवरणअनुसार गत वर्ष सात लाख पाँच हजार ८०९ शिशु जन्मिएका छन् । यो सन् २०२४ को तुलनामा २.१ प्रतिशत कम हो ।

यस तथ्याङ्कमा जापानभित्र जापानी नागरिकबाट जन्मिएका शिशु, विदेशी नागरिकका सन्तान र विदेशमा जन्मिएका जापानी शिशुहरू सबै समेटिएका छन् । विश्वको चौथो ठूलो अर्थतन्त्र मानिने जापानमा विश्वकै न्यूनतम जन्मदरमध्ये एक रहेको छ र कुल जनसङ्ख्या निरन्तर घटिरहेको छ ।

घट्दो जन्मदरका कारण श्रम अभाव, सामाजिक सुरक्षा खर्चमा वृद्धि र कर तिर्ने कामदारको सङ्ख्या घट्ने समस्या तीव्र बन्दै गएको छ । यसले जापानको सार्वजनिक ऋणलाई थप दबाब दिएको छ, जुन प्रमुख अर्थतन्त्रहरूमध्ये सबैभन्दा उच्च अनुपातमा रहेको बताइन्छ ।

देशकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइचीसहित अघिल्ला नेताहरूले जन्मदर बढाउने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्, तर ठोस उपलब्धि सीमित रहेको देखिएको छ । गत हप्ता संसद्मा बोल्दै ताकाइचीले घट्दो जन्मदर र सङ्कुचित जनसङ्ख्यालाई ‘शान्त आपतकाल’ को संज्ञा दिँदै यसले देशको जीवनशक्तिलाई बिस्तारै कमजोर पार्ने बताएको थियो ।

फेब्रुअरी ८ मा सम्पन्न चुनावमा ताकाइची नेतृत्वको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीले दुई तिहाइ बहुमत हासिल गरेको छ । यद्यपि जनसङ्ख्या सङ्कट समाधानका लागि आप्रवासन विस्तार उपयोगी हुन सक्ने विश्लेषण भइरहे पनि ‘जापानी पहिलो’ नारा अघि सारेको सान्सितो पार्टीको दबाबका कारण सरकारले आप्रवासनमा कडा नीति अपनाउने सङ्केत दिएको छ । रासस