काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसले पार्टीको पक्षमा व्यापक जनलहर देखिएको दाबी गरेको छ । आज पार्टी प्रवक्ता देवराज चालिसले पत्रकार सम्मेलन गर्दै अहिले अतिलोकप्रियता र प्रतिगमनका पक्षमा गैरजिम्मेवारी ढंगले आममनोविज्ञानलाई प्रभावित पार्ने तत्वहरू शिथिल बन्दै गएको र कांग्रेसप्रति चौतर्फी आकर्षण बढेको दाबी गरेका हुन् ।
उनले भनेका छन्–‘विभिन्न दलमा उच्चस्तरको भूमिकामा रहेका राजनीतिक व्यक्तित्व, जनप्रतिनिधिसहित स्वतन्त्र उम्मेदवारहरूको नेपाली कांग्रेसमा प्रवेश गर्ने लहर बढेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका नवलपरासी पश्चिमका सभापति महेन्द्र सिंह ठकुरी बर्दघाटमा तथा नेपाली कम्युनिष्ट पार्टीबाट नेता धनलाल गुरुङ, बलराम रावल, भोजराज मल्ल, नारायण बस्नेत लगायत ८० जना आज सुर्खेतमा आयोजित सभाबाट कांग्रेसमा प्रवेश गरेका छन् । यसैगरी भोलि शुक्रबार पोखरामा हुने आमसभामा विभिन्न दल परित्याग गरी ठूलो संख्यामा कांग्रेसमा प्रवेश गर्ने कार्यक्रम छ । स्वतन्त्र हैसियतमा रहेका सामाजिक व्यक्तित्व, जेन–जी आन्दोलनका अगुवाहरू समेत कांग्रेसमा प्रवेश गरी चुनावी अभियानमा जोडिने छन् ।’
आमनिर्वाचन २०८२ को मिति नजिकिइरहँदा नेपाली जनताको प्यारो पार्टी नेपाली कांग्रेसका पक्षमा जनलहर व्यापक बनिरहँदा अपेक्षित चुनावी परिणामको पूर्वाभास भइसकेको पनि उनको दाबी छ । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘एक सय पैँसठ्ठी क्षेत्रमै नेपाली कांग्रेसका कर्मठ र लोकप्रिय उम्मेदवारहरूले संगठित र सुदृढ पार्टीपंक्ति एवम् शुभचिन्तकहरूको साथमा मतदाताहरूसँग सघन अन्तरक्रिया गरिरहनु भएको छ । बदलिँदो राजनीतिक संक्रमणलाई चिर्दै मुलुकको थिति सम्हाल्ने एवम् लोकइच्छा मुताबिक सम्मानित जीवन र समुन्नत राष्ट्रका लक्ष्यहरू पूरा गर्न सक्ने दल कांग्रेस हो भन्ने यथार्थ अबका केही दिनमा जनमतबाटै प्रमाणित हुँदैछ । हामी सम्पूर्ण नागरिक, मतदाता, सञ्चारक्षेत्र, बुद्धिजीवि र न्यायप्रेमी समुदायसमक्ष निर्वाचन अघिको संवदेनशील परिस्थितिमा लोकतन्त्रको रक्षा र सम्बर्धनका पक्षमा तपार्ईंहरूले देखाउनुभएको समर्थनका लागि कांग्रेस आभार प्रकट गर्दछ ।’
प्रवक्ता चालिसले नेपाली कांग्रेसले सदाझैं निर्वाचनमा आचारसंहिताको पालनालाई प्रमुख प्राथमिकता दिएको स्पष्ट पारे । उनले भने,‘कसैले पनि आचारसंहितालाई अवमूल्यन एवम् उल्लंघन गर्नु आधारभूत लोकतान्त्रिक मूल्यमान्यता विपरीत हो । आचार संहिता विपरीतका घटनाहरूबारे छानबिन गर्दै तत्काल कडाभन्दा कडा कारबाही गर्ने सवालमा कुनै विलम्ब नगर्न हामी निर्वाचन आयोग समक्ष जोडदार माग गर्दछौँ । चुनाव प्रचारका क्रममा आ–आफ्ना दलका नीति र मान्यताहरू जनतासमक्ष राख्नु स्वभाविक मानिन्छ । तर नेपालको बहुलता र एकतालाई कमजोर पार्ने विभाजनकारी अभिव्यक्ति, सामाजिक सद्भावमाथि गहिरो प्रहार तथा व्यक्तिगत रुपमा घृणा र द्धेष फैलाउने कार्य सर्वथा अनुचित हो । लोकतन्त्र हाम्रा आफ्नै वाणी, कर्म र आचरणले सुसंस्कृत हुँदै जाने हो । यसतर्फ सबै दल र नागरिक समाज प्रेरित हुनुपर्दछ ।’
लोकतन्त्रमा शासनको वैधताको स्रोत जनताको मत भएको उल्लेख गर्दै उनले जनताले भयरहित वातावरणमा आफ्नो मतदान गर्न पाउने अधिकारको पूर्ण सम्मान गर्न सरकार र सम्बन्धित पक्षसँग आग्रह समेत गरेका छन् ।




प्रतिक्रिया