काठमाडौं, १६ फागुन । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशलाई कमजोर पार्ने र संकटमा धकेल्नेहरुलाई चुनावबाटै पराजित गर्नुपर्ने बताएका छन् । उनले २१ फागुनको निर्वाचनलाई सामान्य हारजितको प्रक्रिया मात्र नभई राष्ट्रको स्वाधीनता र एकता बचाउने जनमत सङ्ग्रहको रूपमा लिनुपर्ने बताएका छन् ।
आज (शनिबार) कपिलवस्तुको कृष्णनगरमा आयोजित क्षेत्र नम्बर ३ को चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सहजीकरण गर्न र निकासको लागि आफू र माधव नेपालले पहल गरेको पनि स्मरण गराए । सुरुमा निर्वाचनबाहेक अर्को लोकतान्त्रिक विकल्प नभएको अवस्थाबाट गुज्रिएको देश अहिले अनेकौँ उतार चढावका बाबजुद सिङ्गै निर्वाचनमा होमिनु खुसी र गर्वको विषय भएको दाहालको भनाई थियो ।
दाहालले राष्ट्रको एकतालाई प्रवद्र्धन गर्न चाहने र राष्ट्रलाई सङ्कटमा धकेल्न खोज्ने शक्तिहरूबिचको प्रतिस्पर्धाका रूपमा यो चुनावलाई चित्रण गरे । उनले एकातिर आन्दोलनरत जेनजीहरूको हत्या गर्ने प्रवृत्ति र अर्कोतिर सिंहदरबारदेखि देशका धरोहरहरू जलाउने प्रवृत्ति चुनावमा विभिन्न बहाना र तर्कसहित प्रतिस्पर्धामा आएको भन्दै त्यस्ता अतिवादी शक्तिहरूबाट सचेत रहन जनतालाई आग्रह गरे ।




प्रतिक्रिया