तेल अभिव (इजरायल), १६ फागुन । इरानले शनिबार इजरायली क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको छ । उक्त आक्रमणले मध्यपूर्वमा बढ्दो तनावलाई नयाँ उच्चस्तरमा पुर्याएको छ । इजरायली रक्षा बल (आइडिएफ) ले प्रहार पुष्टि गर्दै आफ्नो मिसाइल रक्षा प्रणाली सक्रिय गरेको र प्रभावित क्षेत्रका नागरिकहरूलाई तत्काल आश्रय लिन मोबाइल अलर्टमार्फत निर्देशित गरिएको बताएको छ ।
आइडिएफले भनेको छ, “केही समयअघि हामीले इरानबाट प्रहार भएका क्षेप्यास्त्रहरू पहिचान गरेका थियौँ । जोखिम रोक्न रक्षात्मक प्रणाली सञ्चालनमा छन् ।” यो घटना क्षेत्रमा बढ्दो सैन्य तनाव र इरान र अन्य देशबीच हप्तौँसम्म चलिरहेको उच्च–जोखिम आणविक वार्ताको बीचमा भएको हो ।
प्रत्यक्ष आक्रमणको पूर्ण दायरा अझै मूल्याङ्कन भइरहेको भए पनि यसले दुई देशबीच व्यापक द्वन्द्वमा महत्त्वपूर्ण प्रतिशोधात्मक कदमको सङ्केत गरेको विश्लेषकहरूले बताएका छन् । भारत सरकारले आफ्नो नागरिकलाई अत्यधिक सावधानी अपनाउन, घरभित्रै रहन र अनावश्यक गतिविधिबाट बच्न चेतावनी दिएको छ ।
तेहरानस्थित भारतीय दूतावासले पहिले नै सुरक्षा सल्लाह जारी गर्दै आवश्यक अवस्थामा ओमान वा अन्य सुरक्षित देशतर्फ यात्रा गर्न सुझाएको छ । यसैबीच, इजरायलले देशव्यापी आपतकाल घोषणा गरी अस्पतालहरू भूमिगत सार्न र साइरन सक्रिय गर्न आदेश दिएको छ । इरान, इजरायल र इराकले आफ्ना हवाई क्षेत्र बन्द गरेका छन् भने सबै व्यावसायिक उडान स्थगित भएका छन् ।
इरानका अधिकारीहरूले अघिल्लो दिन इजरायल र अमेरिकाद्वारा सुरु गरिएको संयुक्त सैन्य आक्रमणको जवाफमा ‘क्रूर प्रतिक्रिया’ दिने चेतावनी दिएका थिए । इजरायलले रोइङ लायन नामक संयुक्त अपरेसनमार्फत इरानको सेना, मिसाइल उत्पादन सुविधा र सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको कार्यालय नजिकका क्षेत्रहरूलाई लक्षित गरेको थियो ।
प्रत्यक्षदर्शीहरूले तेहरानमा शक्तिशाली विस्फोट सुनेको बताएका छन, र राजधानीका धेरै साइटहरूमा तनाव बढेको छ । वर्तमान परिस्थितिले व्यापक क्षेत्रीय द्वन्द्वको डर बढाएको छ र अन्तर्राष्ट्रिय समुदायले नजिकबाट निगरानी राखिरहेको छ । रासस




प्रतिक्रिया