पछिल्ला ३० दिनमा पश्चिम नवलपरासीमा विकासको ‘फाउन्डेसन’ तयार भएको छ, यसकै जगमा टेकेर अघि बढ्छुः चौधरी


काठमाडौं, फागुन २३ । नेपाली कांग्रेसका नेता विनोद चौधरीले विगत ३० महिनामा पश्चिम नवलपरासीको विकासको आधार (फाउन्डेसन) तयार भएको बताएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत नवलपरासी (बसुप) क्षेत्र नम्बर १ बाट यस क्षेत्रबाट निर्वाचित राष्ट्रिय पार्टीका विक्रम खनाललाई बधाई तथा शुभकामना दिदै आफू संसदमा भएपनि नभए पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूबाट नेपालको प्रतिष्ठा बढाउने काममा सधैं लागिरहने जनाएका छन् ।

नवलपरासी (बसुप) क्षेत्र नम्बर १ मा आफूलाई रूख चिन्हमा मतदान गर्ने सबै मतदातालाई धन्यवाद दिदै चौधरीले देशलाई आर्थिक विकासको सही दिशामा लैजान आफ्नो ज्ञान र अनुभव राष्ट्रका लागि सधैं समर्पित गर्न म तयार रहने जनाएका छन् ।

‘विगत ३० महिनामा पश्चिम नवलपरासीको विकासको आधार (फाउन्डेसन) तयार भएको छ । यही जगमा टेकेर यस क्षेत्रको विकास अभियान अझ अगाडि बढ्नेछ भन्ने विश्वास लिएको छु,’ चौधरीले लेखेका छन्, ‘अहिले निर्वाचित नभए पनि यहाँको विकास–निर्माण र जनताको सुख–दुःखमा म सधैं तपाईंहरूसँगै रहनेछु ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूबाट नेपालको प्रतिष्ठा बढाउने काममा सधैं लागिरहने बताउदै उनले आफूलाई रूख चिन्हमा मतदान गर्ने सबैलाई आभार व्यक्त गर्दै निर्वाचन अभियानका क्रममा साथ दिनेलाई धन्यवाद ज्ञापन गरेका छन् ।