काठमाडौं, २९ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा शक्तिशाली सरकार गठन गर्ने निश्चित् भएको छ । रास्वपाले यस निर्वाचनमा दुई तिहाईनजिकको बहुमत हासिल गरेको छ । दुई तिहाईको लागि २ सिटमात्रै कम भएको रास्वपाले वरिष्ठ नेता शाहको नेतृत्वमा शक्तिशाली सरकार गठन गर्दैछ । बालेनले आफ्नो सरकारमा योग्य र सक्षमहरूको टिम बनाउन गृहकार्य थालेको बताईन्छ । यसपटक बढिमा १८ सदस्यीय मन्त्रिमण्डल हुने भनिएको छ ।
रास्वपाले आफ्नो वाचापत्रमा नै १८ सदस्यभन्दा ठूलो मन्त्रिपरिषद् नबनाउने घोषणा गरेको छ । प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिटमा जित निकालेको रास्वपाले एकल बहुमतको सरकार बनाउने भएकोले अब बन्ने प्रधानमन्त्रीले विश्वासको मतसमेत लिन नपर्ने संवैधानिक व्यवस्था छ ।
रास्वपा सभापति रवि लामिछानेले वरिष्ठ नेता शाहसँग सरकार गठनको लागि छलफल प्रारम्भ गरेको बताईन्छ । अहिले गृह मन्त्रालय र अर्थ मन्त्रालयको नेतृत्व कसले गर्ने भन्ने विषयमा रास्वपाभित्र रस्साकस्सी रहेको बताईन्छ । सभापति लामिछानेले अर्थ मन्त्रालयको नेतृत्वमा उपसभापति डा. स्वर्णिम वाग्लेलाई पठाउने भनेर चुनावकै ताका घोषणा गरिसकेका छन् ।
यद्धपी योबीचमा अहिलेकै अर्थमन्त्री रामेश्वर खनाललाई नै राष्ट्रियसभामा मनोनित गरेर दोहोर्याउने विषयमा पनि छलफल चलेको बताईन्छ । तर, खनाल स्वयमले भने आफू राष्ट्रियसभामा नजाने भनेर स्पष्ट पारेको कुरा मिडियामार्फत सार्वजनिक भएका छन्। अर्थमन्त्रीमा वाग्लेलाई नै पठाउने कुरामा रास्वपाको हाईकमाण्डभित्र सहमति बनिसकेको छ ।
तर, मुलुकको गृह प्रशासन चलाउने गृह मन्त्रालयको नेतृत्वमा कसलाई पठाउने भन्ने विषयमा भने अहिलेसम्म टुँगो लागेको छैन । यसपटक सर्लाही–४ बाट भारी मतान्तरले विजयी भएका डा. अमरेशकुमार सिंहपनि शक्तिशाली मन्त्रालयको नेतृत्व गर्ने तयारीमा छन् । निर्वाचनको प्रचारप्रसारकै क्रममा उनले आफूले बालेन नेतृत्वको सरकारमा ठूलो मन्त्रालयको नेतृत्व गर्ने भनेका थिए । सांसदमात्रै भएर आवाज उठाउने र प्रश्न गर्ने सिंह पहिलोपटक सत्तारोहणको तयारीमा छन् ।
उनले गृह मन्त्रालयको नेतृत्व गर्ने चाहना राखेका छन् । रास्वपाभित्र गृहमन्त्रालयको नेतृत्वमा भने अर्का उपसभापति डिपी अर्याललाई पठाउनुपर्ने आवाज उठेको छ । सभापति लामिछानेले जेलमा हुँदा कार्यवाहक सभापतिको जिम्मेवारी कुशलतापूर्वक सञ्चालन गरेर पार्टीको संगठन विस्तारमा प्रभावकारी भूमिका खेलेको भन्दै अर्याललाई नै गृह मन्त्रालयको नेतृत्वमा लैजानुपर्ने आवाज जबरजस्त रुपमा उठेको छ ।
अब बन्ने प्रधानमन्त्री बालेनले कसलाई चाहने हो उसैले गृह, अर्थ, परराष्ट्र र रक्षा मन्त्रालयको नेतृत्व सम्हाल्नसक्ने बताईन्छ । बालेनको चाहनाविपरित कसैले भन्दैमा कोही शक्तिशाली मन्त्री बनिहाल्ने अवस्था अहिले रास्वपामा नभएको बताईन्छ ।




प्रतिक्रिया