काठडमाडौं, २८ चैत । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले राम्रो काम गर्दा आफूहरु सकारात्मक ढंगले सघाउनका लागि तयार रहेको बताएका छन् । आज (शनिबार) पार्टी निकट महिला संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले राम्रो काममा सघाउन र संविधान, राष्ट्रियतामा आँच आउने र जनताले पाएको अधिकार कटौती हुने अवस्था आएको खण्डमा प्रतिवाद गर्न पनि आफूहरु तयार रहेको बताएका हुन् ।
‘अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार छ । राम्रो काम गर्दा हामी त्यसलाई सकारात्मक ढंगले हेर्छौं । तर, संविधानमाथि छेडखान हुन थाल्यो, राष्ट्रको राष्ट्रिय हितमाथि कहीँ कतैबाट आँच आउन थाल्यो वा जनताले पाएका हक अधिकार खोस्ने जस्ता गतिविधि हुन थाल्यो भने हामी त्यसको प्रतिवाद गर्छौं’ प्रचण्डले भने ।
अहिले विद्यार्थीहरुको संगठन र कर्मचारीहरुको ट्रेड युनियन अधिकारमाथि सरकारले प्रश्न उठाउने काम गरिरहेको र आफूहरुले शर्तक हुनका लागि भनिराखेको पनि प्रचण्डले बताए । जनताले ठूलो त्याग र बलिदानीपछि प्राप्त गरेको जनवर्गको अधिकारमाथि कुनै किसिमको छेडखानी नगर्न उनले सरकारलाई आग्रह गरे ।
उनले अहिलेको सरकारले संविधान संशोधनको कुरा पनि चलाइरहेको उल्लेख गर्दै उनले आफूहरु संविधान संशोधनको विरोधी नरहेको बताए । संविधान संशोधन जनताले पाएको अधिकार थप्नका लागि हुनुपर्ने उनले बताए ।
‘संविधान संशोधन जनताले पाएको अधिकार थप्नका लागि हुनुपर्यो, खोस्नका लागि होइन । संघीयतालाई अझ बलियो बनाउनका लागि हुनुपर्यो, कमजोर बनाउनका लागि होइन । त्यो हुँदा हाम्रो सकारात्मक भूमिका र सहयोग नै हुन्छ,’ प्रचण्डले भने ।




प्रतिक्रिया