काठमाडौं, चैत ३० । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्तिमा पर्याप्त पारदर्शिता नभएको भन्दै मन्त्रीहरुकै सम्पत्तिमा राज्यको कानून आकर्षित हुने जनाएका छन् ।
उनले सार्वजनिक सम्पत्ति विवरणले धेरै मन्त्रीहरूको आर्थिक अवस्था औसत नेपाली नागरिकको भन्दा निकै माथि देखिएकोबारे गम्भीर प्रश्न उठाउँदै मन्त्रीहरूले कानुनले तोकेको हदबन्दीभन्दा बढी जग्गा स्वयम् घोषणा गरेकाले सम्पत्तिमा राज्यको कानून आकर्षित हुने दाबी गरेका हुन् ।
श्रेष्ठका अनुसार कतिपय मन्त्रीहरूको सम्पत्तिमा नगद, गरगहना, घरजग्गा, शेयर तथा अन्य लगानी उल्लेख्य रूपमा रहेको देखिन्छ। अझ रोचक पक्ष के छ भने केही मन्त्रीहरूले कानुनले तोकेको हदबन्दीभन्दा बढी जग्गा स्वयम् घोषणा गरेका छन्। यसले उनीहरूको सम्पत्तिमाथि राज्यको कानुनी ध्यान जान सक्ने संकेत दिएको उनले बताएका छन् ।
उनले भनेका छन्, ‘धन कमाउनु र धनी बन्नु गलत होइन, तर त्यसको स्रोत र तिरेको करबारे पनि खुलासा हुन आवश्यक छ।’मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणसँगै आयको स्रोत र कर तिरेको विवरण पनि सार्वजनिक गर्नुपर्ने उनको माग छ।




प्रतिक्रिया