अमेरिकी सहायक विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै


काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री एस. पावल कपुर तीन दिने भ्रमणका लागि नेपाल आउन लागेका छन् । भारतका विदेश सचिव बिक्रम मिस्री नेपाल आउने तयारी भइरहेको बेला अमेरिकी सहायक विदेशमन्त्री कपुर पनि आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका खास मान्छेको रूपमा चिनिएका उनी सोमबार औपचारिक भ्रमणका लागि नेपाल आउन लागेका हुन् । यद्यपि प्रधानमन्त्री बालेनसँग भेटघाट हुने कि नहुने अझै टुगों लागेको छैन।

राष्ट्रपति ट्रम्पले तत्कालीन अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुलाई हटाएर २०८१ फागुनमा कपुरलाई नियुक्त गरेका थिए । उनी नियुक्त भएपछि भारतीय मूलका भनी निकै चर्चा भएको थियो । उनको जन्म भारतमा भएको हो । बुवा भारतीय हुन् भने आमा अमेरिकी मूलका हुन् ।

तत्कालीन सहायक विदेशमन्त्री डोनाल्ड लु आफ्नो कार्यकालमा चार पटक नेपाल भ्रमण गरिसकेका थिए । नेपालमा एमसीसी लागु गराउनमा उनको ठुलो भूमिका रहेको चर्चा छ । उनी तत्कालीन अवस्थामा नेपाल आएर उच्च स्तरीय भेटघाट गरेपछि संसदबाट एमसीसी पारित भएको थियो ।

अहिले सहायक विदेशमन्त्री कपुर नेपाल भ्रमण आउन लागेकोमा त्यसलाई अर्थपूर्ण रूपमा लिएको छ ।

भ्रमणमा आउन लागेका सहायक विदेशमन्त्री कपुरले क्षेत्रीय स्थिरता, सुरक्षा, र सहकार्यका विषयमा नेपालसँग धारणा आदानप्रदान गर्न बताइएको छ ।

उनले भ्रमणका क्रममा परराष्ट्रमन्त्री शिशिर खनालसहित उच्चस्तरीय भेटघाट गर्ने बताइएको छ । जेनजी आन्दोलनपछि गठन भएको सरकारमा अहिलेसम्मको उच्चस्तरीय भ्रमण यो रहेको छ ।