१९ कात्तिक, काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले प्रहरी संगठनभित्र प्रतिशोधपूर्ण व्यवहार नगर्ने र कर्मचारीको बढुवा तथा सरुवा कार्यसम्पादनका आधारमा गर्ने बताएका छन् ।
आईजीपीको दर्ज्यानी चिह्न प्राप्त गरेलगत्तै प्रहरी प्रधान कार्यालय पुगेर मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिँदै उनले संगठनभित्र व्यक्तिगत विषयलाई जोड्न नहुने स्पष्ट पारे । उनले कुनै पनि प्रहरी कर्मचारीमाथि पूर्वाग्रह वा प्रतिशोध राखेर व्यवहार नगरिने बताए ।
केसीले प्रहरी संगठनका संवेदनशील सूचना चुहावटप्रति शून्य सहनशीलताको नीति अपनाइने पनि जानकारी दिए । मुलुकको संवेदनशील सुरक्षा अवस्था, सञ्चारमाध्यम तथा सामाजिक सञ्जालको प्रवृत्ति र बढ्दो प्राविधिक जोखिमलाई ध्यानमा राख्दै संगठनका आन्तरिक रणनीति तथा गोप्य सूचनाको सुरक्षा गर्न उनले निर्देशन दिए ।
उनले विधिको शासन कायम गराउने क्रममा प्रहरी कर्मचारीहरू कुनै पनि प्रलोभन, प्रभाव वा दबाबमा नपरी संगठनप्रति इमानदार र जिम्मेवार हुनुपर्ने बताए । नागरिकको हकहित र कानुनी राज्यको सुनिश्चितताका लागि उच्च नैतिक चरित्र तथा व्यावसायिक इमानदारी प्रदर्शन गर्नुपर्नेमा उनको जोड थियो ।
प्रहरीभित्र सरुवा तथा बढुवाको प्रणालीलाई व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गर्दै केसीले अब कर्मचारीको कार्यसम्पादन र योग्यताका आधारमा अवसर प्रदान गरिने बताए ।
उनले प्रहरी संगठनको प्रतिष्ठा, व्यावसायिकता र नागरिकको विश्वास अभिवृद्धिलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरे । विषम परिस्थितिमा नेपाल सरकार र आम नागरिकको अपेक्षाअनुसार संगठनका कामकारबाही अघि बढाउन सबै प्रहरी कर्मचारी एकजुट हुनुपर्ने उनको भनाइ थियो ।
बदलिँदो सामाजिक परिवेश र विकसित सुरक्षा चुनौतीलाई सम्बोधन गर्न नेपाल प्रहरीलाई अझ सक्षम, व्यावसायिक, प्रविधिमैत्री तथा नागरिकप्रति उत्तरदायी संगठनका रूपमा विकास गर्नु आफ्नो प्रमुख प्राथमिकता रहेको उनले बताए ।
केसीले संगठनभित्र अनुशासन, गोपनीयता, व्यावसायिक इमानदारी र जवाफदेहितालाई प्रभावकारी बनाउँदै नागरिकको विश्वास जित्ने गरी काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।




प्रतिक्रिया