काठमाडौं, ६ वैशाख । नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनीकी पत्नी पूर्व परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा यतिबेला हङ्कङमा छन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा घाइते भएका देउवा दम्पत्ति उपचारका लागि विदेश गएको बताइन्छ ।
कांग्रेसको विशेष महाधिवेशनपछि केही समय निष्कृय रहेर आम निर्वाचनको सङ्घारमा चुपचाप विदेशिएका देउवा सम्पत्तिविरुद्ध सम्पत्ति शुद्धीकरण अभियोगमा छानविनको लागि पक्राउपुर्जी जारी भएको अवस्था छ । पक्राउ पुर्जी जारी भएको बेलुका सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै देउवाले आफू निर्दोष रहेको बताएका थिए । उनले आफू नेपाल फर्किएर कानूनी प्रक्रियालाई सघाउन प्रतिवद्धतासमेत जनाएका थिए ।
यता कांग्रेस नेताहरु देउवा र उनीकी पत्नी कहिले नेपाल फर्किने हो भन्नेबारे बेखबर छन् । कांग्रेसले पार्टी पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री देउवालाई नेपाल फर्किएर कानूनी प्रक्रियालाई सघाउन भनी पत्र नै लेखिसकेको उपसभापति विश्वप्रकाश शर्मा बताउँछन् ।
नेता प्रकाशशरण महत देउवा कहिले नेपाल फर्किने भन्नेबारे आफूलाई केही थाहा जानकारी नरहेको बताउँछन् । महतलाई देउवानिकट नेता मानिन्छ । नेता महतले आफूसँग देउवाले गत निर्वाचनको बेलामा एकफेर कुराकानी गरेको र त्यसपछि सम्पर्कमा नरहेको बताए ।
यद्यपि पूर्व सभापति देउवा र उनको परिवारको सम्पत्ति छानविनमा सरकारलाई कांग्रेसले कुनै अवरोध नगर्ने पनि उनले बताए । तर, हचुवाको भरमा भने सम्पत्ति छानविन गरिन नहुने उनको भनाइ छ । स्वतन्त्र रुपमा कसैको राजनीतिक दवाब र प्रभावमा नपरी छानविन गरिनुपर्ने नेता महतले बताए ।
वर्तमान सरकारले विधि, प्रक्रिया नै पूरा नगरी पक्राउ र धरपकडको आतङ्क मच्चाइरहेको उनले बताए । नेता महतले पहिला नै म यसो गर्छु भनेर सोच बनाएर काम गर्नुको सट्टा साँच्चै कसैले दुरुपयोग गरेको पाइएमा प्रक्रिया अगाडि बढाइनुपर्ने बताए ।
‘उहाँहरु नेपाल चाहिँ कहिले आउनुहुन्छ त ?’ भन्ने प्रश्नमा त्यो आफूलाई थाहा जानकारी नभएको नेता महतले बताए । पूर्व प्रधानमन्त्री देउवा र उनीकी पत्नी डा.आरजु राणा देउवा नेपाल आउनुपर्ने र उनीहरुमाथि लागेको आरोप फेस गर्नुपर्ने नेता महतको मताइ छ ।
‘उहाँहरु कहिले आउनुहुन्छ भन्ने मलाई थाहा छैन । तर, उहाँहरु आउनुपर्छ । आफूमाथि लागेको आरोप फेस गर्नुपर्छ । उहाँले आफूले पनि भन्नुभएको छ निर्दोष छु भनेर । उहाँले शाही आयोग पनि फेस गर्नुभएको थियो,’ उनले भने ।




प्रतिक्रिया