बाबुले गरे आफ्नै सात छोराछोरीको हत्या


काठमाडौं, वैशाख ७ । अमेरिकामा एक व्यक्तिले आफ्नै ७ जना छोराछोरीको गोली हानी हत्या गरेका छन्। लुइसियाना राज्यको श्रीभपोर्ट सहरमा भएको सामूहिक गोलीकाण्डमा एक व्यक्तिले आफ्नै सात जना बालबालिकासहित आठ जनाको हत्या गरेका हुन्।

प्रहरीका अनुसार आक्रमणकारी पनि मारिएका छन्। प्रहरी कारबाहीमा मारिने व्यक्ति ७ बालबालिकाका पिता शमार एल्किन्स रहेको पुष्टि भएको छ। मारिएका बालबालिकाको उमेर १ वर्षदेखि १४ वर्षसम्म रहेको बताइएको छ। यस घटनामा कुल १० जनालाई गोली लागेको थियो। घाइतेमध्ये एक जना मारिएका बालबालिकाकी आमासमेत रहेकी छन्।

प्रहरीका अनुसार गोलीकाण्ड सहरका विभिन्न स्थानमा भएको थियो। आक्रमणकारीले सुरुमा सडकमा एक महिलामाथि गोली चलाएका थिए। त्यसपछि उनी नजिकैको एक घरमा प्रवेश गरी त्यहाँ रहेका आठ जनालाई गोली हानेका थिए, जसमा सबैको मृत्यु भयो। तीमध्ये एक जना घाइते व्यक्ति छिमेकीको घरमा पुगेर प्रहरीलाई खबर गर्न सफल भएका थिए। यो घटना सन् २०२४ जनवरीपछि अमेरिकामा भएको सबैभन्दा घातक सामूहिक गोलीकाण्ड भएको बताइएको छ।