दुई सय प्रतिशतसम्म बढ्यो कालिमाटीमा तरकारीको मूल्य


काठमाडौं, वैशाख १० । काठमाडौं उपत्यकामा तरकारीको मूल्य अत्यधिक बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार तरकारीको मूल्य गत वर्षको तुलनामा दुई सय प्रतिशतसम्म बढेको छ । गत वर्ष र यस वर्षको एकै मितिको तरकारीको मूल्य तुलना गर्दा न्यूनतम १२ प्रतिशत र अधिकतम २२४ प्रतिशतसम्म बढेको पाइएको हो ।

कालीमाटीको थोक बजारमा व्यापार गर्ने गीताप्रसाद आचार्यका अनुसार गत वर्षको तुलनामा तरकारीको मूल्य बढेको तर गत चैतको तुलनामा गोलभेँडा, लौका, घिरौँला, भिन्डीलगायतका तरकारी क्रमशः घट्न थालेको छ । कालीमाटी बजारमा सामान्य अवस्थामा दैनिक एक हजार मेट्रिक टनभन्दा बढी तरकारी भित्रिने गरेकोमा अहिले छरसात सय मेट्रिक टनमा सीमित हुँदा मूल्य बढेको जनाइएको छ।

समितिका अनुसार यो समय कालीमाटी बजारमा अधिकांश तरकारी उपत्यकासहित पहाडी जिल्ला धादिङ, मकवानपुर, काभ्रे, नुवाकोट, दोलखा, रामेछापलगायतका जिल्ला र तराईका सर्लाही, बारा, पर्साबाट आउने गर्छन् ।