सुकुम्बासीको नाममा धन्दा : टहरा बनाएर मासिक ४ देखि ८ हजारसम्म भाडा असुली


काठमाडौं । सुकुम्बासीको नाममा सार्वजनिक जग्गा अतिक्रमण गरी टहरा बनाएर भाडा असुली गर्ने धन्दा बाहिर आएको छ। सरकारले राजधानीका विभिन्न सुकुम्बासी बस्तीमा डोजर चलाएर अवैध संरचना हटाउन थालेपछि त्यहाँभित्र चलिरहेको अवैध गतिविधि क्रमशः सतहमा आउन थालेको हो।

सरकारी अभियानअन्तर्गत टहरा भत्काउन सुरु भएसँगै वास्तविक सुकुम्बासी र अवसरका लागि बसोबास गरेका व्यक्तिहरू छुट्टिन थालेका छन्। कतिपय बासिन्दा आफ्ना सामान बोकेर अन्यत्र सरेका छन् भने केही वास्तविक सुकुम्बासी भने वैकल्पिक व्यवस्थाको खोजीमा सरकारको सम्पर्कमा आउन थालेका छन्।

यसैबीच, सुकुम्बासी बस्तीभित्र टहरा बनाएर भाडामा दिने संगठित धन्दा सञ्चालन भइरहेको तथ्य खुलेको छ। थापाथलीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका मुकेश पास्वीले आफू मासिक चार हजार रुपैयाँ तिरेर बस्दै आएको बताएका छन्। उनका अनुसार बस्तीभित्रै एक व्यक्तिले ‘मेयर’ जस्तै भूमिका निर्वाह गर्दै सबैबाट पैसा उठाउने गरेको थियो।

“यहाँभित्र एक जना पैसा उठाउने व्यक्ति थिए, हामीले मासिक चार हजार तिर्थ्यौं। पैसा नदिए सामान नै बाहिर फालिदिन्थे,” उनले सञ्चारकर्मीसँग भने। उनले उक्त व्यक्ति डोजर चल्नुअघि नै फरार भएको पनि बताए। पास्वी सर्लाहीबाट आएर उक्त बस्तीमा भाडामा बस्दै आएका थिए।

यस्तै, शान्तिनगरस्थित अर्को सुकुम्बासी बस्तीमा पनि यस्तै प्रकृतिको भाडा असुली हुने गरेको पाइएको छ। त्यहाँका सुनिल ठाकुरले पाँच वर्षदेखि बस्दै आएको बताउँदै मासिक आठ हजार रुपैयाँ भाडा तिर्दै आएको जानकारी दिए। “मेरो सानो पसल थियो, म यहाँ पाँच वर्षदेखि बस्दै आएको हुँ, मासिक आठ हजार तिर्थें,” उनले भने। डोजर चल्ने सूचना पाएपछि उनले आफ्नो पसलका सामान अन्यत्र सारिसकेको बताए।

सरकारले थापाथली क्षेत्रका अधिकांश संरचना हटाइसकेको छ भने अहिले तीनकुने नजिकको गैह्रीगाउँ क्षेत्रमा पनि अवैध टहरा हटाउने काम जारी राखेको छ।

यस घटनाले सुकुम्बासीको नाममा सार्वजनिक जग्गा कब्जा गरेर संगठित रूपमा भाडा असुली गर्ने प्रवृत्ति व्यापक रहेको संकेत गरेको छ। सरोकारवालाहरूले वास्तविक सुकुम्बासी पहिचान गरी उनीहरूलाई व्यवस्थित बसोबासको व्यवस्था गर्नुपर्ने र अवैध रूपमा चलिरहेका यस्ता धन्दा नियन्त्रणमा कडाइ गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।