एक महिनामै तरकारीको मूल्य ३०० प्रतिशतसम्म बढ्यो


काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको ‘आर्थिक वर्ष २०८२-८३ को चैत महिनाको मूल्य विश्लेषण प्रतिवेदन’ले नेपाली बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको देखाएको छ ।

पेट्रोलियम पदार्थमा भएको निरन्तरको मूल्यवृद्धि र अमेरिकी डलरको मजबुत विनिमय दरका कारण ढुवानी र आयात महँगो हुँदा त्यसको प्रत्यक्ष असर सर्वसाधारणको भान्छामा परेको विभागले जनाएको छ ।

विभागको प्रतिवेदनअनुसार चैतमा सबैभन्दा बढी मूल्यवृद्धि तरकारी बजारमा देखिएको छ । विभागले कालीमाटी फलफूल तथा तरकारी बजारको मूल्य विवरणलाई आधार मान्दा केही तरकारीको मूल्यमा ३०० प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ ।

विभागका अनुसार स्थानीय काउलीको मूल्यमा ३०४.७६ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी हाइब्रिड घिउ सिमीको मूल्य ३०० प्रतिशत र स्थानीय घिउ सिमीको मूल्य २६६.६७ प्रतिशतले बढेको छ ।

चैत २६ गतेसम्म आइपुग्दा पेट्रोलको मूल्य प्रतिलिटर २१९ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य २०७ रुपैयाँ पुगेको थियो । यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ थियो ।

प्रतिवेदनका अनुसार विभिन्न सहरहरूमध्ये काठमाडौँ उपत्यकामा खाद्यान्नको मूल्य तुलनात्मक रूपमा बढी छ । सोना मन्सुली चामलको औसत मूल्य प्रतिकिलो ९५ रुपैयाँ, बासमती चामल १८५ रुपैयाँ र जिरा मसिनो चामल १०२ रुपैयाँसम्म पुगेको छ । मासको दाल प्रतिकिलो १९० रुपैयाँ र मुसुरोको दाल १८५ रुपैयाँ पुगेको छ ।