काठमाडौं । न्युज एक्सप्रेस मिडिया प्रा.लिले सञ्चालन गर्न लागेको टेलिभिजन कार्यक्रम “संवाद एक्सप्रेस” औपचारिक रूपमा घोषणा गरिएको छ। देशभरीका सातै प्रदेश, ७५३ पालिका र संघीय सरकारसँग जनतालाई जोड्ने अभियान सहित आज(आईतबार) काठमाडौंको एभरेष्ट होटेलमा एक कार्यक्रमको आयोजना गर्दै उक्त कार्यक्रमको घोषणा गरेको हो ।
नेपाल नगरपालिका संघको समन्वयमा सञ्चालन हुने उक्त कार्यक्रम आगामी वैशाख १८ गतेदेखि प्रसारणमा आउने न्युज एक्सप्रेसका संस्थापक अध्यक्ष मिलन सिंहले जानकारी दिए ।
कार्यक्रममार्फत स्थानीय तहदेखि प्रदेश र संघीय सरकारसम्मका जनप्रतिनिधिसँग नीति, योजना, विकास तथा जनचासोका विषयमा प्रत्यक्ष प्रश्न–उत्तर गरी पारदर्शिता र जवाफदेहिता बनाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ।
कार्यक्रमको मूल उद्देश्यसँग सम्बन्धित विषयमा विभिन्न राजनीतिक दलका नेताबीच प्रभावकारी छलफल समेत सम्पन्न भएको थियो। छलफलमा स्थानीय तहमा देखिएका समस्या, विकासका प्राथमिकता, संघ तथा प्रदेशसँगको समन्वयमा रहेका चुनौतीहरू, साथै आवश्यक कानुनी तथा नीतिगत सुधारका विषयमा नेताहरूले आफ्ना अनुभव, विश्लेषण र सुझाव राखेका थिए। सहभागीहरूले दिएका सुझावहरू तीनै तहका सरकारबीच समन्वय, समस्या समाधान र कानुनी जटिलता न्यूनीकरणका लागि उपयोगी हुने विश्वास गरिएको छ। साथै ती सुझावहरूले “संवाद एक्सप्रेस” कार्यक्रमलाई समेत मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।
छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुली, नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसे, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाही, नेकपा एमालेका सांसद साजिदा सिद्दिकी तथा केन्द्रीय सदस्य अच्युत मैनाली, नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा, प्रलोपाका सन्तोष परियार, जसपा नेपालका उपाध्यक्ष राजकिशोर यादव, नाउपाका महासचिव धर्म चौधरी तथा पत्रकार एवं अध्यापक जीवन भण्डारीलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमका निर्देशक उमेश सुनार र प्रोड्युसर प्रतिक श्रेष्ठ रहेका छन्। न्युज एक्सप्रेसका संस्थापक अध्यक्ष मिलन सिंहका अनुसार देशव्यापी रूपमा सञ्चालन गरिने “संवाद एक्सप्रेस”मार्फत तीनै तहका सरकारबीच भइरहेका कामकारबाही, चुनौती र नागरिकका प्रत्यक्ष गुनासाहरूलाई उजागर गरिनेछ।
साथै कार्यक्रममार्फत प्राप्त सुझाव तथा समस्याहरूलाई समाधानका लागि सम्बन्धित निकायसम्म पुर्याइने उनले जानकारी दिए।








प्रतिक्रिया