दशैँ घर आंगनमै आइपुगेको छ । तर, मनमा उमंग छैन। गाउँघरमा लिङ्गे पिङको रौनक छैन। घर फर्किनेको अनुहारमा पहिलेको जस्तो उत्साह छैन।
बजारमा चाडपर्वको चहलपहल छ। तर, धेरैको मनमा खुसीभन्दा पीडा गहिरो छ।
यसपटक दशैँले खुसीभन्दा बढी दुःख सम्झाएको छ। कतै बाढीपहिरोले घरबार बगाएको छ। कतै आफन्त खोसेको छ। कतै परिवारलाई शोकमा डुबाएको छ। कतै आर्थिक अभावले जीवन नै कठिन बनाएको छ।
गत भदौ १० गते रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढी र त्यसपछि देशका विभिन्न ठाउँमा भएका प्राकृतिक विपत्तिसम्म आइपुग्दा धेरै परिवारको जीवन तहसनहस भएको छ।
कसैले पुर्ख्यौली घर गुमाएका छन्। कसैले वर्षौँ मेहनत गरेर कमाएको धन गुमाएका छन्। कसैले आफ्ना प्रियजन गुमाएका छन्। विपत्ति बित्यो, तर त्यसले दिएको चोट अझै निको भएको छैन ।
पीडितका आँखाबाट आँसु अझै सुकिसकेको छैन।
त्यसको असर यसपटकको दशैँमा पनि देखिएको छ।
बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै यसपटक राजनीतिक दलहरूले समेत चियापान कार्यक्रम नगर्ने निर्णय गरेका छन्। पूर्वराजा ज्ञानेन्द्र शाहले पनि यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने घोषणा गरेका छन्।
सामान्यतया चाडपर्वमा हुने यस्ता भेटघाट र उत्सवका कार्यक्रम रोकिँदा यसपटकको दशैँको वातावरणसमेत फरक देखिएको छ।
दशैँ त भेटघाटको पर्व हो। खुसी साट्ने पर्व हो। तर, जब देशका नागरिक विपत्तिमा परेका हुन्छन्, तब उत्सवको रौनक पनि फिक्का हुन्छ।
दशैँमा सबैभन्दा ठूलो खुसी परिवारसँग हुनु हो। तर, जसको परिवार नै बाढीपहिरोले बिछोडिएको छ, उसका लागि यो पर्व कसरी रमाइलो बनोस्? जसको घर बगेको छ, उसले कहाँ बसेर टीका लगाओस्? जसले आफन्त गुमाएको छ, उसले कसको हातबाट आशीर्वाद थापोस्?
यही दुःखको अर्को पाटो आर्थिक अभाव हो। पठाओ चलाएर गुजारा गरिरहेका मुगुका गणेश नेपालीको आत्मदाहको घटनाले समाजलाई झस्काएको छ।
यी सबै घटनाले यसपटकको दशैँलाई केवल चाडपर्वको खुसीमा सीमित हुन दिएका छैनन्। देशमा विपत्ति छ। परिवारमा शोक छ। नागरिकमा अभाव छ। कतिपयको जीवनमा आशा र निराशाबीचको सङ्घर्ष छ।
यसपटक पनि दशैँ आएको छ। तर, सबैको घरमा खुसी आएको छैन। कसैको घरमा टीका र जमरा छ। कसैको घरमा विपत्तिको घाउ छ।




प्रतिक्रिया