देउवा समूहको बैठक आज, को–को पुग्दैछन् धुम्बाराही?


काठमाडौं, वैशाख १५ । । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको देउवा समूहको बैठक आज बस्दै छ।धुम्बाराहीस्ति स्मार्ट होटलमा आयोजना हुने दुई दिने भेलामा चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य, पदाधिकारी तथा जिल्ला सभापतिहरू सभागी हुँदैछन् ।

निवर्तमान सभापति शेरबहादुर देउवा समूहबाट १४ औँ महाधिवेशनमा केन्द्रीय कार्यसमितिमा निर्वाचित भएकाहरूलाई पनि बोलाइएको भेलामा आगामी रणनीति, संगठनात्मक अवस्था तथा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने जनाइएको छ ।

बैठकमा पार्टीभित्रको आगामी भूमिका, नेतृत्वको रणनीति तथा समूहको साझा धारणा निर्माणमा केन्द्रित भएर छलफल हुने बताइएको छ। त्यस्तै, आगामी दिनमा हामी कसरी अघि बढ्ने तथा १५औँ महाधिवेशनको तयारी कसरी गर्ने जस्ता विषयमा बृहत छलफल र समीक्षा हुनेछ ।

गगनकुमार थापाको भृकुटीमण्डप भेला अर्थात् कथित विशेष महाधिवेशनलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले मान्यता दिएको छ । देउवा समूह १४ औँ महाधिवेशन र कथित विशेष महाधिवेशनबाट गठित केन्द्रीय कार्यसमितिलाई मिलाएर १५औँ महाधिवेशन आयोजक समिति बनाएर जानुपर्ने पक्षमा छ । पार्टी एकताका लागि देउवा समूहको अगाडि सारेको प्रस्तावलाई गगन थापाले मानेका छैनन् ।

कांग्रेसलाई बचाउन र पार्टी एकताका लागि गगन थापा जिम्मेवार हुनुपर्ने देउवा समूहको भनाइ छ । दुई दिनको भेलापछि देउवा समूहले ७७ वटै जिल्लाहरूमा भेला र कार्यक्रम राख्नेछ । त्यसपछि छिट्टै राष्ट्रियस्तरको भेला काठमाडौंमा हुनेछ ।