आज र भोलि ठूलो पानी पर्ने, यी राजमार्गमा राति यात्रा नगर्न आग्रह


काठमाडौं, वैशाख १५ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि कोशी, बाग्मती र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । अहिले कास्की, लमजुङ, गोरखा, धादिङसहित देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाउदै महाशाखाले पछिल्लो तीन घण्टामा कास्कीको लुम्लेमा झण्डै १८ मिलिमिटर वर्षा मापन भएको जानकारी गराएको छ ।

त्यस्तै कर्णाली, बागमती र कोशी प्रदेशका पनि एकरदुई ठाउँमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ । हाल गण्डकी प्रदेशका धेरैजसो स्थान र कर्णाली, बागमती तथा कोशीका केही क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यो मौसमी प्रणाली बिस्तारै पूर्वतर्फ सर्ने क्रममा रहेकाले आसपासका क्षेत्रमा पनि वर्षाको प्रभाव बढ्दै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकीलगायत देशका अधिकांश पहाडी र हिमाली भू(भागमा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

विशेषगरी आज रातिदेखि वर्षाको मात्रा र क्षेत्र झनै विस्तार हुने पूर्वानुमान गरिएको छ। रातिको समयमा कोशीका धेरै स्थान र अन्य तीन प्रदेशका केही स्थानमा वर्षा हुनेछ भने कोशी र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रका एक(दुई स्थानमा भारी वर्षा र हिमपातको समेत जोखिम रहेको विभागले जनाएको छ ।

यसपटकको वर्षाका कारण साना खोला खोल्सीहरूमा आकस्मिक बाढी आउने, पहाडी क्षेत्रमा पहिरो जानसक्ने र सडक अवरुद्ध हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

वर्षाका कारण त्रिभुवन राजमार्ग, पृथ्वी राजमार्ग, सिद्धार्थ, पासाङल्हामु र बीपी राजमार्गमा मंगलबारदेखि बिहीबारसम्म रातिको समयमा यात्रा नगर्न आग्रह गरिएको छ ।