‘गौथली’ लाई साउन १ बाट हेर्न पाइने


काठमाडौं । नेपाली चलचित्र जगतमा ‘गौथली’ एउटा स्थापित नाम हो । नेपालका प्रतिष्ठित चिकित्सक डा. भोला रिजालको कथामा झण्डै दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल भएको थियो । अहिले सोही विरासतलाई नयाँ स्वरूपमा प्रस्तुत गर्दै नयाँ चलचित्र ‘गौथली’ आउँने भएकाे छ ।

यो चलचित्रलाई डा. कपिल रिजालले निर्देशन गरेका हुन् । यसअघि उनले अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई लिएर चलचित्र ‘ह्यारीकी प्यारी’ बनाएका थिए ।

निर्माण पक्षले वितरकहरू फाइनल गरेसँगै चलचित्रको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति साउन १ गते (जुलाई १७) लाई तय गरेको हो ।

यस चलचित्रमा नायक अरुण क्षेत्री र सिम्रन खड्काको जोडीलाई पर्दामा देख्न पाइनेछ । उनका साथमा चलचित्रमा नेपाली कला क्षेत्रका शिखर व्यक्तित्व मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।

वरिष्ठ चिकित्सक रिजालको कथा रहेको यस चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा.कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् ।

चलचित्रको ‘गौथली’ को प्रतीकात्मक अर्थ घर, परिवार र आपसी सामीप्यतासँग जोडिएको निर्माण पक्षले जनाएको छ ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस चलचित्रको कार्यकारी निर्माता सरला रिजाल हुन् । निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सहनिर्माताको रूपमा छन् ।

वरिष्ठ संगीतकार शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको यस चलचित्रमा पार्श्व संगीत एलिस कार्कीको छ ।

चलचित्रलाई हरि हुमागाईंले खिचेका हुन् भने मिलन श्रेष्ठले सम्पादन गरेका छन् ।

गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यस चलचित्रमा आर्यन अधिकारी र बुद्धि नेपाली सहायक निर्देशक, मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन, रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको छ ।