धितोपत्र बोर्ड अध्यक्ष पदका लागि आवेदन खुला,कति चाहिन्छ याेग्यता ?


काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद नियुक्तिका लागि आवेदन खुलाइएको छ । बोर्ड अध्यक्ष नियुक्तिका लागि सरकारले गठन गरेको सिफारिस समितिले सार्वजनिक सूचना जारी गरी अध्यक्ष पदका लागि आवेदन माग गरेको हो ।

यसअघि वैशाख ४ गते बोर्ड अध्यक्षबाट सन्तोष श्रेष्ठले राजीनामा दिएका थिए ।

बोर्ड अध्यक्षमा आवेदन दिन चाहनेले ७ दिनभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा अवस्थित समितिको सचिवालयमा व्यक्तिगत विवरण पेश गर्नुपर्नेछ ।

योग्यताका हकमा मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि हासिल गरेको, धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक वित्तीय, वाणिज्य व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेको हुनुपर्नेछ ।

त्यस्तै ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ । भ्रष्टाचारजन्य, सम्पत्ति शुद्धीकरण, मानव बेचविखन, लागु औषध कारोबार लगायतका फौजदारी कसुर पाएका व्यक्ति अध्यक्ष पदका लागि अयोग्य हुने सूचनामा उल्लेख गरिएको छ ।