विपन्न दलितलाई बाख्रा पाल्न अनुदान


कञ्चनपुर, १९ वैशाख । शुक्लाफाँटा नगरपालिका–१० सिमलखेतका विपन्न दलित समुदायलाई स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले तालिमसहित अनुदान कार्यक्रम सञ्चालन गरिएको छ । सुदूरपश्चिम प्रदेशअन्तर्गत सामाजिक विकास कार्यालय कञ्चनपुरको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार २५ जना दलित समुदायलाई बाख्रा तथा कुखुरापालनसम्बन्धी सातदिने तालिम दिन सुरु गरिएको हो ।

कार्यालयका प्रमुख भीमबहादुर बुढाका अनुसार तालिममार्फत सहभागीलाई सीपयुक्त बनाउँदै आर्थिक अवस्थामा सुधार ल्याउने लक्ष्य राखिएको छ । “विज्ञ प्रशिक्षकमार्फत तालिम प्रदान गरी दलित समुदायको आयआर्जन वृद्धि गर्ने र आर्थिक अवस्था उकास्ने उद्देश्य छ”, उनले भने, “कार्यक्रमले आयआर्जनका अवसर सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।”

वडा कार्यालयमार्फत अतिविपन्न दलित परिवार छनोट गरी तालिम प्रदान भइरहेको छ । “सानो पुँजीबाट पनि व्यावसायिक काम सुरु गरेर जीवन परिवर्तन गर्न सकिन्छ भन्ने उदाहरण समाजमा थुप्रै छन्”, प्रमुख बुढाले भने, “यस कार्यक्रमले समुदायको आर्थिक अवस्था सुधारमा टेवा पुर्‍याउने विश्वास छ ।”

तालिममा सहभागीहरूलाई तालिमपश्चात बैंक खातामार्फत जनही २५ हजारका दरले अनुदान रकम उपलब्ध गराउने योजना रहेको उनले बताए । नगर उपप्रमुख कल्पना पन्तले तालिमबाट सिकेका सीपलाई व्यवहारमा उतार्न र अनुदान रकमको सदुपयोग गर्नुपर्नेमा जोड दिए । “अनुदान रकमको सही प्रयोग भए–नभएकोबारे नियमित अनुगमन गरिनेछ”, उनले भने ।

वडाध्यक्ष लालबहादुर ऐरले यस्ता कार्यक्रमले विपन्न समुदायलाई आत्मनिर्भर बन्न प्रेरणा दिने उल्लेख गर्दै स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । तालिममा सहभागी टेकबहादुर सार्कीले रोजगारीको अभावका कारण युवाहरू भारततर्फ जानुपर्ने बाध्यता रहेको उल्लेख गरे ।

“घर बासका लागि मात्रै जग्गा छ, स्थानीयस्तरमा रोजगारी नपाउँदा भारत जानुनै एक मात्रै विकल्प छ”, उनले भने, “गत वर्ष बस्तीका बासिन्दाले आवास पायौँ, यस वर्ष तालिम लिदैछौं र अनुदान उपलव्ध गराउने कुरो छ, यसले स्वरोजगार र आत्मनिर्भर बन्न मद्दत गर्नेछ ।”

गत वर्ष सिमलखेतका अति विपन्न ११ दलित परिवारका लागि प्रदेश सरकारले सुरक्षित आवास निर्माण गरी हस्तान्तरण गरेको थियो । रासस