चारवटा मन्त्रालय खारेज हुँदै, केहीलाई गाभेर नयाँ नाम दिइँदै


काठमाडौं । सरकारले चार वटा मन्त्रालय खारेज गर्दैछ । अरु ६ वटा मन्त्रालयको नयाँ नाम कायम गर्ने अन्तिम तयारी भएको जनाइएको छ ।
सरकारको तयारी अनुसार युवा तथा खेलकुद, खानेपानी तथा सरसफाइ, शहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खारेज गर्ने तयारी रहेको छ ।

युवा तथा खेलकुद मन्त्रालयलाई छुट्टाइनेछ । खेलकुदलाई शिक्षा मन्त्रालय गाभेर शिक्षा तथा खेलकुद मन्त्रालय नाम दिइनेछ ।

यसबाट छुट्टिएको युवालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसहित स्वास्थ्य तथा जनसंख्या र सामाजिक सुरक्षा मन्त्रालयलाई एकीकृत गरेर लैंगिक समानता तथा सामाजिक विकास मन्त्रालय नाम दिइने तयारी गरिएको छ ।

खानेपानी तथा सरसफाइ मन्त्रालयबाट सरसफाइलाई छुट्याएर स्वास्थ्य मन्त्रालयमा गाभ्ने तयारी छ । त्यस्तै, खानेपानी र शहरी विकासलाई भौतिक पूर्वाधार मन्त्रालयलाई गाभेर एकीकृत भौतिक पूर्वाधार मन्त्रालय नाम दिइनेछ ।

‘त्यस्तै, भौतिक मन्त्रालयबाट छुट्याएर यातायातलाई श्रमतिर लैजाने आन्तरिक तयारी छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई प्रधानमन्त्रीमातहत लगिनेछ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट गरिबी, सञ्चार मन्त्रालयबाट सूचना–प्रविधि, शिक्षा मन्त्रालयबाट विज्ञान–प्रविधि झिकेर प्रधानमन्त्री मातहत लगिनेछ ।