काठमाडौं, वैशाख २२ । नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै छ । उच्च अदालत पाटनको अन्तरिम आदेशका कारण चैत २९-३० गते हुनुपर्ने साधारण सभाको सोमबार उद्घाटन सत्र भएको थियो । महासङ्घमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रावधान रहेकाले वर्तमान वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वत अध्यक्ष हुने छन् ।
महासङ्घको २०८१ को संशोधित विधानअनुसार अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा प्रत्यक्ष मतदान हुने छैन । त्यस्तै वरिष्ठ उपाध्यक्ष निर्वाचित कार्यसमितिबाट चयन गरिनेछ । अहिले उपाध्यक्ष र कार्यसमिति सदस्यमा मात्र निर्वाचन हुनेछ । यसैअनुसार यसपटक वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले भावी अध्यक्षका रूपमा महासङ्घको नेतृत्व गर्ने भएका छन् । बाँकी ४ उपाध्यक्षसहित ७३ पदका लागि निर्वाचन हुनेछ ।
आज नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने निर्वाचनका लागि ७३ पदाधिकारीका लागि १३७ व्यवसायी चुनावी मैदानमा उत्रिएका छन् । महासङ्घमा जिल्ला-नगर, वस्तुगत र एसोसिएट समूहका विभिन्न पदमा प्रतिस्पर्धा हुनेछ भने वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन छुट्टै गरिनेछ ।
यस निर्वाचनमा वर्तमान अध्यक्ष चन्द्र ढकाल र वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ समुहले प्यानलनै बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।
निर्वाचन समितिले आज बिहान ८ देखि दिउँसो ४ बजेसम्म निर्वाचन हुने र उक्त निर्वाचनमा २ हजारभन्दा बढीले मतदान गर्ने जानकारी दिएको छ । साथै निर्वाचनको नतिजा बुधवार मात्रै घोषणा हुने बताएको छ । चार उपाध्यक्षमा जिल्ला नगरबाट २, एसोसिएटबाट १, वस्तुगत १ उपाध्यक्ष निर्वाचित हुने छन् ।
त्यस्तै महासङ्घमा एसोसिएसटतर्फ १ हजार ८५०, जिल्ला नगरतर्फ १२९, वस्तुगत सङ्घमा १०७, वस्तुगत महासङ्घमा १७, द्विराष्ट्रिय ८ र संस्थापकतर्फ १२ जना मतदाता रहेका छन् ।




प्रतिक्रिया