काठमाडौं, वैशाख २२ । प्रधानमन्त्री वालेन्द्र शाहले अहिले हटाइएको कर्मचारी ट्रेड युनियन र विद्यार्थी संगठन कसैको अधिकार खोस्न नभई प्रणालीको रक्षा र सुधारका लागि गरिएको स्पष्ट पारेका छन् । मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले आफूले संगठन विस्तार गर्न नसकेर नभई विधिको शासनको लागि यस्तो संगठन खारेज गरेको स्पष्ट पारेका हुन् ।
उनले भनेका छन् : वर्षौंदेखि पत्रकार, नेता, अभियन्ता, व्यापारी तथा सर्वसाधारणले शिक्षालय र कर्मचारीतन्त्रमा बढ्दो पार्टीकरणले प्रणाली बिग्रिएको भन्दै आलोचना गर्दै आएका छन्। उनीहरूको भनाइमा विद्यार्थी र कर्मचारीका संगठनहरू आफ्नो मूल उद्देश्यबाट विचलित भई दलका “स्लिपर सेल” जस्तै बनेका छन्, जसले योग्यता र क्षमताभन्दा पहुँच र राजनीतिक झुकावलाई प्राथमिकता दिएको छ। यसले समग्र प्रणालीप्रति जनविश्वास कमजोर बनाएको धारणा व्यक्त गरिएको छ।’
उनले शिक्षालयमा दलको झण्डा र कर्मचारीतन्त्रमा दलगत संलग्नता निषेध गर्ने स्पष्ट नीति लिएको भन्दै यस कदमले अधिकार खोस्ने नभई पेशागत स्वतन्त्रता सुदृढ बनाउने विश्वास गरिएको बताएका छन् । साथै नियुक्ति, सरुवा र बढुवामा दलगत निकटता होइन, विधि, क्षमता र दक्षतालाई आधार बनाइनुपर्नेमा जोड दिइएको उनको भनाइ छ ।
यो कदम कुनै दलविरुद्धको अभियान नभई प्रणाली सुधार र भविष्य सुरक्षित गर्ने प्रयास भएको जनाएको छ। शिक्षालय र कर्मचारीतन्त्रलाई दलीय अखडाबाट मुक्त बनाउने प्रयास रहेको उनको भनाइ छ ।




प्रतिक्रिया