देउवाको योगदानको अवमूल्यन हुँदैनः सभापति थापा


काठमाडौं, वैशाख २६ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले लोकतन्त्र नियन्त्रण गर्न खोजे कांग्रेस सतिसाल भएर उभिने बताएका छन् ।शनिबार धनगढीमा आयोजित भेलालाई सम्बोधन गर्दै सभापति थापाले शक्ति र संख्याको दम्भमा सरकारले लोकतन्त्र नियन्त्रण गर्न खोजे कांग्रेस सतिसाल भएर उभिने बताएका हुन् ।

उनले प्रदेश सरकारहरू ठीक ढंगले चल्नुपर्ने भन्दै त्यसमा निगरानी भने पार्टीले राख्ने बताए । उनले भने, ‘प्रदेशमा जुन ढंगले सरकार चलेका छन्, सोही ढंगले चल्छन् । प्रदेश सरकारमा एमालेसँगको सहकार्य तत्काल टुट्दैन । कांग्रेस–एमालेबाहेक अर्को सरकार बन्छ भन्ने कुराबाट अलमलमा रहन आवश्यक छैन ।’

सभापनि थापाले निवर्तमान सभापति शेरबहादुर देउवाको योगदानको अवमूल्यन नहुने भन्दै आफूहरू देउवाको शुभचिन्तक भएको बताए । सभापति थापाले पार्टीको आधिकारिक सदस्यले उम्मेदवार मन नपरेको भनेर रूखबाहेक अन्य चुनाव चिन्हमा मतदान गर्न नपाइने बताए ।

उनले भने, ‘नेपाली कांग्रेसको क्रियाशील सदस्य हुने, कांग्रेसको नेता हुने तर चुनावमा मलाई उम्मेदवार मन परेन । त्यस कारणले गर्दा मैले अन्तै चिन्हमा भोट हाले भन्न पाइँदैन । त्यसको कुनै तर्क हुँदैन ।’ उनले पार्टीको जिम्मेवारीमा बसेर २१ फागुनको निर्वाचनमा उम्मेदवारलाई असहयोग गरेको नेताहरूलाई केही समयका लागि जिम्मेवारीमुक्त गरिने पनि बताए ।