टर्किस एयरलाइन्सको जहाजमा आगलागी हुँदा विमानस्थल बन्द, यात्रु सबै सकुशल


काठमाडौं, वैशाख २८ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको जहाजमा आगलागी, उडान अवतरण प्रभावित भएको छ । आज बिहान इस्तानबुलबाट आएको जहाजको अवतरण गर्ने क्रममा पांग्रामा आगलागी भएपछि विमानस्थल केही समयका लागि बन्द गरिदा अन्तर्राष्ट्रिय उडान अवतरण प्रभावित भएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल का अनुसार आगलागीपछि जहाजलाई धावनमार्गबाट ट्याक्सीवेतर्फ सारेर यात्रुको उद्धार कार्य भइरहेको छ। उनले हाल उडान अवतरण बन्द गरिएको जानकारी दिए। बिहान ६ः३५ बजे अवतरण गरेको उक्त जहाजमा २७७ जना यात्रु सवार रहेका थिए। यात्रुहरुलाई इमर्जेन्सी ढोका खोलेर उद्धार गरिएको छ ।

विमान धावनमार्गमै रोकिएकाले अन्तर्राष्ट्रिय उडानका ठूला जहाजहरूको नियमित तालिका प्रभावित भएको प्राधिकरणले जनाएको छ। आगलागीको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ। प्राधिकरणका अनुसार जहाजलाई सुरक्षित स्थानमा सारेर वस्तुस्थितिको मूल्याङ्कनपछि मात्रै विमानस्थलको सेवा नियमित गरिनेछ ।