सिरहा । वरिष्ठ पत्रकार ऋषि धमलाले सिरहाको बरियारपट्टी छोटी भन्सार कार्यालय पुनःस्थापनाका लागि आफूले केन्द्र सरकारसँग आवश्यक समन्वय र दबाब दिने बताएका छन्। सरकारले राजपत्रमा सूचना प्रकाशित गरी भन्सार बन्द गर्ने निर्णय गरेपछि आन्दोलित बनेका स्थानीयलाई ऐक्यबद्धता जनाउन बरियारपट्टी पुगेका धमलाले उक्त कुरा बताएका हुन्।
आन्दोलनको केन्द्र बनेको बरियारपट्टीमा स्थानीयलाई सम्बोधन गर्दै धमलाले यो मुद्दालाई राष्ट्रिय बहसको विषय बनाउने उद्घोष गरे। उनले भने, ‘मैले यसबारे अर्थसचिव र भन्सार विभागका महानिर्देशकसँग कुरा गरिसकेको छु। यो स्थानीयको मात्र होइन, राष्ट्रिय सरोकारको विषय हो। भन्सार पुनःस्थापनाका लागि म सिंहदरबार र बालुवाटारसम्म दबाब दिनेछु।’
बरियारपट्टीमा मानिसहरूको बाक्लो उपस्थितिबीच धमलाले आन्दोलनकारीको मनोबल बढाउने काम गरे। उनले स्थानीयको आक्रोशलाई सम्बोधन गर्दै सरकारी बेवास्ताका विरुद्ध आफूले पुलको काम गर्ने आश्वासन दिए। धमलाको उपस्थितिलाई स्थानीयले केन्द्र सरकारसँग कुरा पुग्ने एउटा बलियो कडीको रूपमा हेरेका छन्। उनको सक्रियतासँगै स्थानीय युवा र व्यवसायीहरू थप उत्साहित देखिएका छन्।
सरकारले वैशाख २१ गते राजपत्रमा सूचना प्रकाशित गर्दै प्रशासनिक पुनर्संरचना र आर्थिक मितव्ययिताको कारण देखाएर बरियारपट्टी छोटी भन्सार बन्द गर्ने निर्णय गरेको थियो। तर, स्थानीयले भने यो निर्णयले तराईको महत्वपूर्ण व्यापारिक नाका धराशयी हुने र आर्थिक गतिविधि ठप्प हुने भन्दै विरोध गरिरहेका छन्।
भन्सार बन्द भएपछि बिहीबारदेखि नै हुलाकी सडक ठप्प पारिएको छ भने आइतबार बरियारपट्टी बजार पूर्ण रूपमा बन्द रह्यो। आफ्ना माग पूरा नभए अनिश्चितकालीन आमहड्ताल गर्नेसमेत आन्दोलनकारीहरुले चेतावनी दिएका छन् ।
यता, सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने बरियारपट्टी भन्सार आर्थिक दृष्टिले उपयोगी नदेखिएको दाबी गरेका छन्। उनले वैशाख २४ देखि नै वैकल्पिक व्यवस्था स्वरूप माडार भन्सारबाट कारोबार शुरु गरिएको बताउँदै माडार र ठाडी भन्सारले नै सिरहाको भार थाम्न सक्ने सरकारी विश्लेषण रहेको स्पष्ट पारे ।
यद्यपि, वरिष्ठ पत्रकार धमलाले प्रशासनिक तर्कलाई चुनौती दिँदै स्थानीयको आवश्यकता नै प्राथमिक हुनुपर्नेमा जोड दिएका छन्। धमलाको आगमन र सक्रियताले बरियारपट्टीको यो स्थानीय मुद्दा अब वार कि पारको अवस्थामा पुगेको विश्लेषण गरिएको छ।




प्रतिक्रिया