प्रधानमन्त्री संसदबाट गायब, सल्लाहकारको स्ट्याटस फेसबुकबाट गायब


काठमाडौं, वैशाख २९ । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहले सोमबार राति प्रधानमन्त्रीको बचाउमा लेखेको फेसबुक स्ट्याटस एकाएक गायब भएको छ।

प्रधानमन्त्री शाह आज सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला बैठक हलबाट बाहिरिएको विषयमा चौतर्फी विरोध र टिप्पणी भएपछि शाहले प्रधानमन्त्री स्वास्थ्यको कारण कार्यक्रमबाट बाहिरिएको दाबीसहित फेसबुकमार्फत प्रस्टोक्ति दिए । तर, उक्त पोष्ट सार्वजनिक गरेको १० मिनेट भित्रै गायब भएको छ ।

उनले स्ट्याटस डिलेट गरेका हुन् या कुनै समस्या आएको हो भन्नेबारे खुल्न सकेको छैन। उनले लेखेका छन्, ‘प्रधानमन्त्रीज्यूलाई स्वास्थ्यमा असहजता देखिएकाले नीति तथा कार्यक्रम प्रस्तुतिको क्रममा केही समयका लागि विश्राम लिनुभएको थियो, त्यसपछि उहाँ पुनः कार्यक्रममा सहभागी हुनुभएको हो, उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराइन्छ ।’