मानव बेचबिखन तथा ओसारमा पसारमा संलग्न दुई जना पक्राउ


काठमाडौँ, ३० चैत । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा र दाङ शान्तिनगर गाउँपालिका-३ बस्ने २६ वर्षीय लोकमान खत्री र स्याङ्जा पुतलीबजार नगरपालिका-४ बस्ने ४४ वर्षीय शिव बहादुर थापा रहेका छन् । मानव बेचबिखन ब्यूरोबाट खटिएको प्रहरीले लोकमानलाई जिल्ला प्रहरी कार्यालय सल्यानको समन्वयमा र शिव बहादुरलाई कास्की पोखरा महानगरपालिका-१७ बाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा लोकमानले पीडितलाई भिसिट भिसामा बेलायत प्रवेश गराई उक्त भिसालाई वोर्किङ भिसामा परिवर्तन गरी राम्रो कम्पनीमा काम लगाई दिन्छु भनी ४ लाख रूपैयाँ लिएको, वोर्किङ भिसा आएन भनी पुन: अमेरिका पठाइदिन्छु भन्दै पीडितबाट पटक पटक गरी ६५ लाख २६ हजार ७ सय ८० रूपैयाँ लिएको, २०८१ भदौ १८ गते पीडितलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई, दुबईबाट भारत, भारतदेखि नेपाल, पुन: नेपालबाट कतार, स्पेन, ब्राजिल, पेरू, ईक्वयडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, हुण्डोरस, मेक्सिको हुँदै अवैध रूपमा अमेरिका पुर्‍याएको तथा अमेरिकी प्रहरीले पीडितलाई अवैध रूपमा अमेरिका प्रवेश गरेको कसुरमा पक्राउ गरी १४ महिना सम्म जेलमा राखि २०८३ वैशाख १८ गते डिपोर्ट गरी नेपाल पठाएको खुल्न आएको छ ।

यसैगरी शिव बहादुरले पीडितलाई अमेरिका पठाइदिन्छु भनी विश्वास दिलाई २०७८ वैशाख ११ गते दुबईको ग्राण्ड नोभा होटलमा पुर्‍याई करिब १ महिनासम्म राखि अमेरिकाको भिसा प्रकृया गर्नको लागि दुबईमा बस्ने एजेन्ट मार्फत पीडितबाट ८ लाख रूपैयाँ लिई भिजिट भिसा तयार गरी दुबईबाट हवाई मार्ग हुँदै बहराईन, टर्की, ब्राजिल, पेरूबाट कोलम्बिया लागि १ वर्ष सम्म अमेरिका लैजाने आश्वासन देखाई विभिन्न किसिमको शारिरक तथा मानसिक यातना दिई बन्धक बनाई राखेको खुल्न आएको छ ।

साथै पीडितले आफूलाई नेपाल फिर्ता पठाई दिनको लागि अनुरोध गर्दा नेपाल जानको लागि थप रकम बुझाउनु पर्छ भनी दबाब दिएकोले पीडितले पटकपटक गरी १ करोड ४२ लाख रूपैयाँ पठाएको तथा रकम पाएपछि पीडितलाई आफ्नो एजेन्टहरू मार्फत कोलम्बियाबाट पानामा जंगलको बाटो हुँदै मेक्सिको पूर्वी तापाचुला भन्ने बोर्डरमा पुर्‍याउन लगाई नेपाल फिर्ता हुनको लागि थप २० हजार डलर माग गर्न लगाएकोमा उक्त पैसा दिन नसके पछी पीडितलाई मेक्सिकोमै अलपत्र छाडी एजेन्टहरू सम्पर्कविहीन भएको खुल्न आएको छ ।

पीडितले अमेरिका बस्ने आफन्तसँग समन्वय गरी अमेरिकास्थित नेपाली राजदुतावासको सहयोगमा २०८३ वैशाख २ गते नेपाल फर्किन सफल भएका थिए ।