काठमाडौं, ३० वैशाख । ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि. का प्रमुख कार्यकारी अधिकृत ललितपुर महानगरपालिका-५ मानभवन बस्ने काठमाडौं महानगरपालिका-१८ रक्तकाली घर भएका ६३ वर्षीय ज्योति प्रकाश पाण्डेलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सहयोगमा सिन्धुली कमलामाई नगरपालिका-६ बसपार्क नजिकबाट पक्राउ गरेको हो ।
नेपाल दूरसञ्चार प्राधिकरण जमल काठमाडौंबाट २०७० वैशाख २ गते दूरसञ्चार सेवा सञ्चालन गर्न आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र लिई सञ्चालन भएको स्मार्ट टेलिकम प्रालिले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेको कारणबाट २०८० वैशाख ३ गतेदेखि अनुमतिपत्र स्वतः रद्द भएको थियो ।
दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १८ बमोजिम सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएकोमा नेपाल सरकारको सम्पत्ति बेइमानी पूर्वक नेपाल सरकारको हक टुटाउने उदेश्यका साथ कार्य गरी/गराई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी तथा आपराधिक विश्वासघात कसुरमा लोन रिकभरी कमिटिको अध्यक्ष समेतको हैसियतमा उक्त लिलामी प्रक्रियामा उनको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।




प्रतिक्रिया