काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का मुख्य सचेतक युवराज दुलालले नीति तथा कार्यक्रमले संविधानको मर्मअनुसार समाजवाद उन्मुख अर्थतन्त्रको स्पष्ट राजनीतिक गन्तव्य बोक्नुपर्ने बताएका छन् ।
आज प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सुशासन, सार्वजनिक सेवा प्रवाह र समन्यायिक वितरणमार्फत समृद्ध राष्ट्र निर्माण गर्ने सरकारको लक्ष्य सकारात्मक भएपनि यसको वैचारिक धरातल र कार्यक्रमिक आधार स्पष्ट हुनुपर्ने बताए ।
सरकारले १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने र औसत ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने जस्ता ल्याएका कार्यक्रमहरू आकर्षक भएपनि तीनलाई पूरा गर्ने ठोस आधार नदेखिएको उनको भनाइ छ ।
उनले आन्तरिक उत्पादन र निर्यातलाई प्राथमिकता नदिई स्थिर अर्थतन्त्र निर्माण सम्भव नहुने बताए । दुलालले भने, “यी नारालाई सहयोग गर्ने विषयगत कार्यक्रम पर्याप्त छैनन् । सामान्य कानुनी र संरचनागत सुधारले मात्रै यति ठूला लक्ष्य हासिल गर्न सम्भव हुँदैन ।”




प्रतिक्रिया