विराटनगरका नेपाली युवा उद्यमी टार्जन बुढाथोकीलाई अष्ट्रेलियाको ‘भिक्टोरियन मल्टिकल्चरल अवार्ड’


अष्ट्रेलिया । अष्ट्रेलियाको रिजनल भिक्टोरिया, ब्यालाराटमा बसोबास गर्दै आएका नेपाली युवा उद्यमी टार्जन बुढाथोकी ‘भिक्टोरियन मल्टिकल्चरल अवार्ड्स फर एक्सिलेन्स’ २०२६ अन्तर्गत ‘बिजनेस एन्ड इम्प्लोइमेन्ट अवार्ड’ (व्यक्तिगत विधा) बाट सम्मानित भएका छन्।

विराटनगरका बुढाथोकीलाई समुदायमा उल्लेखनीय योगदान पुर्याएवापत भिक्टोरिया राज्यको बहुसांस्कृतिक निकाय भिक्टोरियन मल्टिकल्चरल कमिसन (भीएमसी) ले दिइएको हो । सन् १४ अक्टोबर २०२६ मा मेलबर्नमा सम्पन्न समारोहमा बुढाथोकीलाई उक्त सम्मान प्रदान गरिएको हो ।


सन् २०१८ मा अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा नेपालबाट आएका बुढाथोकी आज ब्यालाराटस्थित स्वास्थ्य जनशक्ति कम्पनी ‘बेस्ट नर्सिङ एजेन्सी’ (बीएनए) का सहसंस्थापक तथा सीईओ हुन्। सन् २०२४ मा स्थापित बीएनएले नर्स, सपोर्ट वर्कर र एलाइड हेल्थ पेसाकर्मीलाई रोजगारी दिएको छ । जसमध्ये ९० प्रतिशतभन्दा बढी प्रवासी पृष्ठभूमिका छन्, र धेरैले अष्ट्रेलियामा आफ्नो पहिलो रोजगारी बीएनएमार्फत नै पाएका हुन्।


बीएनएअघि नै उनले अन्तर्राष्ट्रिय विद्यार्थीको रोजगारक्षमता बढाउने उद्देश्यले विभिन्न व्यवसाय तथा गैरनाफामुखी संस्था स्थापना गरेका थिए । लामो समयदेखि भिक्टोरियाभरका प्रवासी समुदायको हितमा विभिन्न सामुदायिक नेतृत्व भूमिकामा निरन्तर क्रियाशील छन्। गैरनाफामुखी संस्था ‘स्टेपिङ जोन’ को स्थापनादेखि सिटी अफ मेलबर्न, सिटी अफ विट्लसी, स्टडी मेलबर्न र एसडीए भिक्टोरियाजस्ता निकायसँगको सहकार्यसम्म उनको योगदान फैलिएको छ। हाल ‘मेलबर्नपाल’का उपाध्यक्ष रहेका उनी विद्यार्थीको रोजगारी, कार्यस्थल अधिकार र मानसिक स्वास्थ्य सचेतनामा सक्रिय छन्।


सन् २०२४ मा स्टडी मेलबर्नले उनलाई ‘इमर्जिङ लिडर – इन्टरनेसनल एलुम्नाई अवार्ड’ को राज्यस्तरीय फाइनलिस्ट घोषणा गरेको थियो भने सन् २०२३ मा भिक्टोरियाको विधान परिषद्मा मन्त्री एन्भर एर्दोगानले उनको कामको औपचारिक प्रशंसा गरेका थिए।


सम्मान ग्रहणपछि बुढाथोकीले भने, “यो सम्मान आफ्नो मिहिनेतका भरमा अघि बढ्न खोज्ने हरेक प्रवासीको हो। हामी बीएनएमार्फत त्यही पहिलो अवसरको ढोका खोल्ने काम गरिरहेका छौं।”