सरकारमाथि झाँक्रीको आरोप: ‘व्यवसायीहरुलाई पहिला थुन्ने अनि सुन्ने गरियो’


काठमाडौं । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले सरकारले व्यवसायीहरुलाई पहिला थुन्ने अनि सुन्ने गरेको आरोप लगााएकी छन् ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उनले निजी क्षेत्रलाई काम गर्ने वातावरण सिर्जना गर्नुको सट्टा भय र त्रास सिर्जना गर्ने काम सरकारले गरेको बताइन्

‘यहाँ त निजी क्षेत्रलाई पहिले थुन्न अनि सुन्ने काम भएको छ । अहिले काम गर्ने वातावरण सिर्जना गर्नुभन्दा भय र त्रास सिर्जना गर्ने काम भइरहेको छ । यो काम गरिरहँदा उहाँहरूले कहाँ जान्छौँ भन्ने समेत थाहा पाउनुभएको छैन । यसले नयाँ बाटो दिँदैन,’उनले भनिन् ।

उनले सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता भएको, बुँदा घटाएर पुरानै कार्यक्रमहरू दोहोर्‍याएर लेखिएको भन्दै कुनै प्रतिक्रिया जनाउन आवश्यक नरहेको बताइन् ।

उनले ठुलो जनमतको साथ आएको पार्टीले एकपटक सबै क्षेत्रमा डिपार्चर गर्ने मौका भएपनि त्यस्तो गर्न नसकिएको तर्क गरिन् ।

उनले सरकारले सुशासन र डेलिभरीमा जोड दिएको भन्दै नागरिक, राहदानी र जग्गाधनी पुर्जा बाढ्नु मात्रै डेलिभरी नहुने पनि बताइन् ।