नुवाकोटमा वर्षौँदेखि सडक अलपत्र पारेको भन्दै माइतीघरमा युवाहरुले दिए धर्ना


काठमाडौँ । वर्षौँदेखि अलपत्र अवस्थामा रहेको तीनपिप्ले–गल्छी सडकको स्तरोन्नति तथा कालोपत्रेको माग गर्दै काठमाडौँको माइतीघरमा युवाहरुले धर्ना दिएका छन्।

नुवाकोटको ककनी गाउँपालिका र बेलकोटगढी नगरपालिकाका बासिन्दाहरूले सडकको दयनीय अवस्थाका कारण जनजीवन कष्टकर बनेको भन्दै बुधबार भर्ना दिएका हुन्।

युवा समाजसेवी तथा कृषि अभियन्ता अमृत पुडासैनीको संयोजनमा भएको उक्त प्रदर्शनमा सहभागीहरूले सडक निर्माणमा भएको ढिलाइले कृषि, व्यापार, शिक्षा र स्वास्थ्य क्षेत्रमा गम्भीर असर पुर्‍याएको बताए।

कार्यक्रम संयोजक पुडासैनीले किसानले उत्पादन गरेको दूध र तरकारी सडककै कारण नष्ट हुने अवस्था आएको भन्दै सरकारले तत्काल कालोपत्रेको काम अघि नबढाए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन् ।