म पार्टी र राज्यका सबै निकायलाई छानबिनमा सघाउन तयार छु : खगेन्द्र सुनार



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले आवश्यक परे पार्टीले आफूलाई सम्पूर्ण जिम्मेवारीबाट हटाउन सक्ने बताएका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकबाट धारणा सार्वजनिक गर्दै उनले प्रश्न आफूमाथि उठेकाले मतदाता वा पार्टी कसैले पनि शिर झुकाउन नपर्ने बताएका हुन् । ”म माथि निर्मम छानबिन होस्, आवश्यक परे प्रतिनिधिसभा  सदस्य र पार्टीको केन्द्रीय सदस्य पदबाट पनि निलम्बन गरियोस्,” उनले भनेका छन् । 

आफ्नो कर्मका कारण पार्टी र सरका सती जान नपर्ने उनको धनाइ छ । ”म पार्टी, सरकार,राज्यका सबै निकायलाई छानबिनमा सघाउन तयार छु । प्रमाणित भएको खण्डमा जस्तोसुकै सजाय भोग्न तयार छु,” उनले भनेका छन् । 

यस्तो छ उनको फेसबुक स्टाटस :

प्रश्न म माथि उठेको प्रश्न हो । यसमा पार्टी र पार्टीमा आबद्ध सदस्य, शुभचिन्तक, मतदाता कसैले पनि शिर झुकाउनु पर्दैन । म माथि निर्मम छानविन गरियोस् । आवश्यक परे प्रतिनिधि सभा सदस्य, पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन, बर्खास्त गरियोस् । म र मैले कुनै पनि कु-कर्म गरेको खण्डमा पार्टी, सरकार सती जान पर्दैन। म पार्टी, सरकार, राज्यका सबै निकायले गर्ने छानबिनमा सघाउन तयार छु । मैले गरिएको भनिएको पाप, अपराध के हो ? प्रमाणित भएको खण्डमा जस्तोसुकै सजाय भोग्न तयार छु । तर राजनीतिक, सामाजिक रुपमा काम गरिरहेकी एक निर्दोष महिला माथि जुन ढङ्गबाट मिडिया ट्राईल, अतिरञ्जित प्रचार, अनावश्यक फोटो, अडियो, भिडियाे जोडी टिका टिप्पणी गरिएको छ, यो कदापि स्वीकार्य छैन । आरोपमा भनिएको छ मैले दुःख दिए । हिजो एक जना व्यक्तिले जिन्दगीको कुनै बिन्दुमा दुःख दिएको थियो रे भन्ने काल्पनिक बुझाईमा एक महिलालाई यसरी लखेट्नु कति सान्दर्भिक हो ? म बाट कुनै बदमासी भएको भए उहाँलाई गोप्य राखी म माथि प्रहरी, अदालत, कसैले अनुसन्धान गरेर सजाय दिँदा हुने विषयलाई राज्यको जिम्मेवार निकायबाट यसरी किन लखेटियो ? समाचार प्रकाशित गर्ने मिडियालाई सम्बन्धित मान्छेले यस्ता गलत समाचार नलेख्नु, यो गलत हो भन्दाभन्दै किन लखेटियो ? प्रहरीको हेडक्वाटर, CIB ले बार-बार भेट्न बोलाएको, मुद्दा हाल्न भनेको तर अन्याय भएको भए म आफै मुद्दा हाल्थे, म आफ्नो जिन्दगीबारे सचेत छु भन्ने उहाँको जवाफ पछि अब तिमीहरू दुवै जनालाई एकै झट्कामा सक्काउँछौं भन्ने धम्की दिएर फोन काटेको केही दिनमा यो सबै घटना क्रम भएको हो । खैर केही छैन । मैले कुनै विषयमा प्रश्न गरे, मुद्दा उठाए भन्दैमा म माथि प्रश्न गर्नै नपाइने भन्ने होईन । प्रश्नः उठेको छ । समाचार आएको छ । त्यसैले एक जिम्मेवार नागरिकको हैसियतले म माथिका प्रत्यक आरोपको सत्य-तथ्य छानबिन होस् । तर, उहाँ महिला माथि प्रहरी, राज्य, समाज, मिडियाले गरेको दुर्व्यवहार आपत्ति जनक छ । जे कारबाही हो म माथि होस् – मलाई स्वीकार छ । उहाँ माथिको आक्रमण मान्य छैन । त्यो गलत छ ।