नेपाली कांग्रेसको ‘निर्वाचन ब्यूरो’मा १७ सदस्य मनोनयन


काठमाडौं, ६ जेठ । नेपाली कांग्रेसले ‘निर्वाचन ब्यूरो’मा १७ सदस्य मनोनयन गरेको छ । कांग्रेस सभापति गगनकुमार थापाले उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठित ब्यूरोमा आज १७ सदस्य मनोनयन गरेका हुन्।

ब्यूरोको सदस्यमा जीवन परियार (कास्की), अब्दुल सत्तार (गोरखा), नानु बाँस्तोला (काठमाडौं), सन्दीप राना (पाल्पा), वंशलाल तामाङ (सिन्धुपाल्चोक), प्रकाश तिवारी (स्याङ्जा), महेश ढुङ्गेल (काठमाडौं), दीपक महतो (सर्लाही), हरि पोखरेल (झापा) र सुदर्शन आचार्य (सिन्धुपाल्चोक) रहेका छन् ।

यस्तै, रोहित पौडेल (काठमाडौं), डा भूमिराज चापागाईं (नवलपुर), सिद्धार्थ थापा (धनकुटा), नवराज त्रिपाठी (बारा), तेजविनोद पौडेल (स्याङ्जा), जगनाथ लामिछाने (काठमाडौं) र मिलनराज बर्तौला (काठमाडौं) रहेका छन् ।

ब्यूरोलाई पार्टीको देशव्यापी निर्वाचन ‘डाटाबेस’ निर्माण गर्ने र निर्वाचन तयारीलाई तथ्याङ्कमा आधारित र वैज्ञानिक बनाउने लक्ष्यसहित कार्यादेश पनि तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


ब्यूरोले ब्युरोले सात सय ५३ स्थानीय तह छ हजार ७४३ वडा र सात वटै प्रदेशका लागि विस्तृत निर्वाचन योजना तयार गर्ने, मतदाताको मनोविज्ञान र वस्तुस्थितिको विश्लेषण गरी उम्मेदवार छनोट प्रणालीलाई तथ्यपरक बनाउने जनाइएको छ ।

यस्तै, निर्वाचन ब्यूरोअन्तर्गत सात जना विज्ञको ‘प्राविधिक समिति’ रहने, त्यसमा डाटा विश्लेषण, अनुसन्धानकर्ता, राजनीतिक रणनीतिकार र डिजिटल विज्ञहरू समावेश हुनेछन् ।

यस्तै, प्रदेशस्तरमा सूचना सङ्कलनका लागि ‘अपरेसनल टिम’ र स्थानीयस्तरसम्म ‘सूचनादाता’ को सञ्जाल परिचालन र उक्त संयन्त्रले सामाजिक सञ्जालको प्रवृत्ति विश्लेषण, साप्ताहिक ‘अपडेट’ र मासिक विश्लेषणात्मक प्रतिवेदन तयार गर्ने गरी कार्यादेश दिइएको कांग्रेसले जनाएको छ ।

Skip This

Omoda E5 Pro