वासिङ्टन डिसी । अमेरिकी सरकारले सन् १९९६ मा दुईवटा विमान खसालेको घटनामा संलग्न रहेको आरोपमा क्युवाका पूर्वनेता राहुल कास्ट्रोविरुद्ध अमेरिकी नागरिकको हत्या गर्ने षड्यन्त्र र अन्य अपराधको मुद्दा दर्ता गरेको छ।
क्युवाली–अमेरिकी समूह ‘ब्रदर्स टु द रेस्क्यु’ सँग आबद्ध विमान क्युवा र फ्लोरिडाको बीचमा खसाल्दा चार जनाको मृत्यु भएको थियो, जसमा तीन जना अमेरिकी नागरिक थिए। यस घटनामा कास्ट्रो र अन्य पाँच जनामाथि आरोप लगाइएको छ।
९४ वर्ष पुगेका कास्ट्रो तत्कालीन समयमा क्युवाको सशस्त्र बलका प्रमुख थिए र यस घटनाका कारण उनले अन्तर्राष्ट्रिय रूपमा चर्को आलोचना खेपेका थिए। क्युवाको कम्युनिस्ट शासनमाथि अमेरिकी दबाब बढ्दै गएको समयमा क्युवाली राष्ट्रपति मिगुएल डियाज–कानेलले यो आरोपलाई कानुनी आधारविनाको राजनीतिक चालबाजी भनेका छन्।
मियामीको फ्रिडम टावरमा बोल्दै कार्यवाहक महान्यायाधिवक्ता टोड ब्लान्चले अमेरिकाले कास्ट्रोविरुद्ध विमान नष्ट गरेको र अर्मान्डो अलेजान्ड्रे जुनियर, कार्लोस अल्बर्टो कोस्टा, मारियो म्यानुएल डे ला पेना र पाब्लो मोरालेसको मृत्युको मामलामा चारवटा छुट्टाछुट्टै हत्याको आरोप पनि लगाएको बताएका छन्। ब्लान्चले ‘अमेरिका र राष्ट्रपति ट्रम्पले आफ्ना नागरिकलाई कहिल्यै बिर्सने छैनन्’ भनेका छन्। यी आरोपहरू अमेरिकी अदालतमा बहस हुनेछ र हत्याको आरोप प्रमाणित भएमा मृत्युदण्ड वा आजीवन कारावासको सजाय हुन सक्छ।
क्युवाको एकदलीय शासनमाथि राजनीतिक र आर्थिक सुधारको लागि दबाब बढिरहेका बेला न्याय मन्त्रालयको यो नयाँ कदमले क्युवाली कम्युनिस्ट नेतृत्वको प्रमुख व्यक्तिलाई निशाना बनाएको छ। अमेरिकन युनिभर्सिटीका ल्याटिन अमेरिकी राजनीतिविज्ञ विलियम लियोग्रान्डले भने, ‘क्युवाली सरकारले वार्ताको टेबुलमा आत्मसमर्पण नगरेसम्म अमेरिकाले बिस्तारै दबाब बढाउँदै लैजाने रणनीति लिएको देखिन्छ ।’ अमेरिकाले क्युवामाथि प्रतिबन्धहरू लगाएको छ र तेल आपूर्तिमा नाकाबन्दी गरेको छ, जसले गर्दा त्यहाँ विद्युत कटौती र खाद्य संकट निम्तिएको छ।
यसैबिच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युवाको स्वतन्त्रता दिवसको अवसर पारेर त्यहाँका जनतालाई सन्देश पठाएका छन्। उनले राष्ट्रपति ट्रम्पले अमेरिका र नयाँ क्युवाबिचको नयाँ मार्ग प्रस्ताव गरिरहेको बताएका छन्।
उनले क्युवाली सेनाद्वारा सञ्चालित गाएसा नामक कम्पनी नै देशमा भइरहेको विद्युत कटौती र खाद्य संकटको मुख्य जिम्मेवार भएको आरोप लगाएका छन्। गाएसाले क्युवाको अर्थतन्त्रका आकर्षक क्षेत्रहरू जस्तै बन्दरगाह, पेट्रोल पम्प र फाइभ–स्टार होटलहरू नियन्त्रण गर्छ।
रुबियोको यो सन्देशको जवाफमा डियाज–कानेलले अमेरिकाले झूटो बोलेको र क्युवाली जनतालाई सामूहिक सजाय दिएको आरोप लगाएका छन्। उनले कास्ट्रोविरुद्धको अभियोगलाई क्युवाविरुद्धको सैन्य आक्रामकताको मूर्खतालाई जायज ठहराउन प्रयोग गरिएको भन्दै विमान खसालेको घटनाका तथ्यहरूलाई अमेरिकाले तोडमरोड गरेको बताएका छन्।
उनले क्युवाले आफ्नो जलक्षेत्रभित्र वैध आत्मरक्षामा कदम चालेको दाबी गरेका छन्। कास्ट्रोलाई अमेरिका ल्याउने सम्भावनाबारे पत्रकारहरूले सोधेको प्रश्नमा ब्लान्चले उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको र उनी आफ्नै इच्छाले वा अन्य कुनै तरिकाले यहाँ उपस्थित हुने अपेक्षा गरिएको बताएका छन्।
विज्ञ लियोग्रान्डले यदि क्युवालीहरूले आत्मसमर्पण गरेनन् भने अमेरिकाले पूर्व क्युवाली नेतालाई पक्राउ गर्न सक्ने विश्वास व्यक्त गरेका छन्। गत जनवरीमा अमेरिकाले भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मादुरोलाई न्याय मन्त्रालयले अभियोग लगाएपछि पक्राउ गर्न सैन्य अपरेसन चलाएको थियो। यसले वासिङ्टन र भेनेजुएलाको सम्बन्धलाई बदलेको थियो।
तर क्युवाको हकमा कास्ट्रोले करिब एक दशकअघि नै अवकाश लिइसकेकाले त्यस्तै प्रभाव नपर्न सक्ने लियोग्रान्डको भनाइ छ। ९५ वर्ष पुग्न लागेका र स्वर्गीय क्युवाली नेता फिडेल कास्ट्रोका भाइ राहुल कास्ट्रो अझै पनि क्युवामा क्रान्तिका जीवित नेताका रूपमा प्रभावशाली छन्। सन् २००८ देखि २०१८ सम्मको आफ्नो राष्ट्रपतिकालमा उनले तत्कालीन अमेरिकी राष्ट्रपति बराक ओबामासँग मिलेर वासिङ्टन–हभाना सम्बन्धमा सुधारको छोटो प्रयास गरेका थिए।
राष्ट्रपति डोनाल्ड ट्रम्पले यस अभियोगको राजनीतिक पक्षबारे बोल्दै क्युवाली–अमेरिकीहरूसँग आफ्नो राम्रो सम्बन्ध रहेकाले उनीहरू आफ्नो परिवारजस्तै भएको र मानवीय आधारमा आफूहरू मद्दत गर्न तयार रहेको बताएका छन्। एजेन्सी




प्रतिक्रिया