नेकपाद्वारा सुदूरपश्चिममा दुई दिने अगुवा कार्यकर्ता प्रशिक्षण


धनगढी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशमा दुई दिने अन्तरक्रिया तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्ने भएको छ। पार्टीको सांगठनिक सुदृढीकरण र भावी कार्यदिशाबारे छलफल गर्न नेकपाले आज र भोलि दुई दिन सुदूरपश्चिमका केन्द्रीय सदस्य तथा प्रादेशिक नेताहरूसँग अन्तर्क्रिया गर्न लागेको हो।

नेकपा सुदूरपश्चिमका अनुसार आज पहिलो दिन केन्द्रीय सदस्यहरूसँग विशेष परामर्श बैठक बस्नेछ भने भोलि प्रदेश कमिटीका सदस्यहरूसहितको बहत् प्रशिक्षण कार्यक्रम तय गरिएको छ। सुदूरपश्चिम प्रदेशस्तरीय यो विशेष कार्यक्रमका लागि नेकपाका शीर्ष नेताहरू धनगढी पुग्ने क्रम जारी छ। पार्टीका सहसंयोजक माधव कुमार नेपाल र भीम रावल बुधबार नै धनगढी पुगिसकेका छन्। यस्तै, संयोजक पुष्पकमल दाहाल, नेताहरू नारायणकाजी श्रेष्ठ र रञ्जिता श्रेष्ठलगायतका शीर्ष नेताहरू आज धनगढी पुग्दैछन्।

नेकपाका सहसंयोजक खगराज भट्टले पहिलो दिन परामर्श र दोस्रो दिन प्रशिक्षणको कार्यतालिका रहेको जानकारी दिएका छन्। पार्टीको वैचारिक, सांगठनिक र भावनात्मक एकतालाई मजबुत बनाउँदै जनताको आवश्यकता सम्बोधन गर्न यो कार्यक्रम कोसेढुङ्गा सावित हुने भट्टको भनाइ छ।