राष्ट्रिय बाल परिषद् खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग रानामगरको माग


काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगरले राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले अघिल्लो सरकारले सो निर्णय गरेको भन्ने सुनिन आएको भन्दै त्यसमा सरकारले पुनर्विचार गर्न आवश्यक रहेको बताइन् ।

‘राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने अघिल्लो सरकारको निर्णय भन्ने सुनिन आएको छ । बाल अधिकार संरक्षण, बालबालिकाको हक अधिकार जस्ता संवेदनशील विषयलाई मध्यनजर गर्दै कुनैपनि स्पष्ट वैकल्पिक संरचना तथा प्रभावकारी व्यवस्था सुनिश्चित नभएसम्म उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । साथै यस विषयमा सरोकारवालाहरूसँग व्यापक परामर्श गरी पुनर्विचारका लागि सरकारसँग आग्रह गर्दछु । मेरो भाषामा बालबालिका सबैभन्दा निमुखा वर्ग हो । एउटा गरिब मान्छेलाई म निमुखा भन्दिन । जो निर्दोष, कमजोर छ । उनीहरूलाई निमुखा भन्नुपर्छ भनेर पनि म आग्रह गर्दछु,’ उनले भनिन् ।