किसानको खल्ती रित्तो बनाएर देशमा समृद्धि कदापि ल्याउन सकिँदैन : सांसद लिमा


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले किसानहरूको भुक्तानी १५ दिनभित्र अनिवार्य हुनेगरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उखु किसान, दूध किसान लगायतको भुक्तानी वर्षौसम्म पनि हुन नसकिरहेको बताउँदै सरकारसँग उक्त माग गरेका हुन् ।

‘हाम्रो कृषि प्रदान देशमा आज किसानको आँसुले माटो भिजिरहेको छ । मकवानपुरका दूध किसानको मात्रै १४ करोड भन्दा बढी भुक्तानी दिन बाँकी छ । यो समस्या एउटा जिल्लाको मात्रै होइन सभामुख महोदय । देशभरका उखु, दूध, धानलगायतका धेरै उत्पादक किसानहरूको यो साझा समस्या हो । जब एउटा किसानले आफ्नो पसिनाको मूल्य पाउन महिनौँ, वर्षौँ कुर्नुपर्छ । तब उसले गाईभैसीको दाना र छोराछोरीको स्कुलको फि कसरी समयमा तिर्छ ? किसानको खल्ती रित्तो बनाएर देशमा समृद्धि कदापि ल्याउन सकिँदैन । मुलुकमा खाद्यान्न मात्रै होइन सभामुख महोदय । अत म सरकारसँग माग गर्दछु–किसानको भुक्तानी १५ दिनभित्र अनिवार्य फर्स्यौट गर्ने कानुनी ग्यारेन्टी गरियोस्,’ उनले भने ।