काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा= तोसिमा कार्कीले राष्ट्रिय ट्रमा नीति तत्काल निर्माण गर्न सरकारसँग माग गरेकी छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले उक्त माग गरेकी हुन् ।
सडक दुर्घटनामा परी धेरै नागरिकले ज्यान गुमाउनु परिरहेको पीडालाई सम्बोधन गर्न पनि सरकारले उक्त नीति निर्माण गरी तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने सांसद कार्कीको भनाई थियो । उनले सडक बनाउने तर नागरिकलाई सडक दुर्घटनाबाट बचाउन नसक्ने हो भने सरकार नैतिक तथा नीतिगत दुवै रूपमा असफल भएको हुने तथ्य पनि उल्लेख गरिन् ।
‘राज्यले कर उठाउँछ, सडक बनाउँछ । तर आफना नागरिकलाई सडकबाट मर्नबाट जोगाउन सकेन भने त्यो केवल प्रशासनिक कमजोरी मात्रै होइन, त्यो राज्यको नैतिक र नीतिगत पराजय हुनेछ । अघिल्ला सरकारले के गरे, कसो गरे ?,’ उनले भने, ‘कहाँ चुके भन्नेकुरा हामीलाई थाहा छैन । तर नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन् । अब पनि फाइल अड्कियो, निर्देशिका थन्कियो भनेर हामीलाई पन्छिने छुट छैन ।’




प्रतिक्रिया