काठमाडौं । नेपाल चलचित्र कलाकार संघ को २१औँ साधारणसभा तथा अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् । बुधबार नेपाल चलचित्र विकास बोर्डमा आयोजित विशेष कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरणसँगै पदभार हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न संघ–संस्थाका प्रतिनिधि, वरिष्ठ चलचित्रकर्मी, कलाकार, सञ्चारकर्मी तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । नव निर्वाचित नेतृत्वले संघलाई अझ व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री संस्थाको रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको संघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पदभार ग्रहणपछि संघको पहिलो बैठक चन्द्रागिरी नगरपालिका–पुरानो नैकाप थानेटारस्थित संघको आफ्नै भवनमा सम्पन्न भएको थियो । बैठकले संस्थागत विकास, चलचित्रकर्मीहरूको अधिकार संरक्षण तथा संघको दीर्घकालीन सुदृढीकरणसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको जनाएको छ ।
बैठकले संघको निर्वाचन सफल बनाउन सहयोग पुर्याउने पूर्व कार्यसमिति, चलचित्र विकास बोर्ड, चलचित्रसम्बद्ध संघ–संस्थाहरू, निर्वाचन आयोग, मानार्थ सदस्य, आजिवन सदस्य, अनुशासन समिति, संरक्षक, सल्लाहकार, आजिवन, साधारण र सह सदस्यहरू, सुरक्षा निकाय, सञ्चारकर्मी तथा शुभेच्छुकहरूलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।
त्यसैगरी संघका सम्पूर्ण अभिलेखहरूलाई व्यवस्थित र पारदर्शी बनाउन डिजिटल तथा अनलाइन प्रणालीलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने निर्णय गरिएको छ । संघको वेबसाइटलाई पुनः व्यवस्थित गरी प्रभावकारी रूपमा सञ्चालनमा ल्याइने जानकारी पनि दिइएको छ । नयाँ नेतृत्वले सूचना प्रविधिको प्रयोगमार्फत कलाकार संघलाई आधुनिक र उत्तरदायी संस्थाको रूपमा विकास गर्ने लक्ष्य लिएको बताइएको छ ।
बैठकले नेपाली चलचित्र क्षेत्रका वरिष्ठ व्यक्तित्वहरूलाई विभिन्न जिम्मेवारीमा मनोनयन गर्ने निर्णय पनि गरेको छ । विशिष्ट चलचित्रकर्मी बसुन्धारा भुसाल लाई संघको संरक्षकमा मनोनयन गरिएको छ भने मधुकुमार श्रेष्ठ र दिनेशराज दाहाल लाई सल्लाहकारको जिम्मेवारी प्रदान गरिएको छ ।
यसैगरी वरिष्ठ अधिवक्ता कृष्ण ढुंगाना लाई कानुनी सल्लाहकार तथा विशिष्ट चलचित्रकर्मी नारायण प्रधान लाई अनुशासन समिति संयोजकमा मनोनयन गरिएको छ । संघका निवर्तमान अध्यक्ष मोहन निरौला लाई प्रवक्ताको जिम्मेवारी दिइएको छ भने संस्थापक सदस्य रविन्द्र खड्का लाई नियमित बैठकहरूमा आमन्त्रण गर्ने निर्णय गरिएको छ ।
बैठकले अन्तर्राष्ट्रिय स्तरमा नेपाली चलचित्रको उपस्थिति र सफलताको समेत प्रशंसा गरेको छ । हालै सम्पन्न कान्स फिल्म फेस्टिभलमा नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग’ले उल्लेखनीय उपस्थिति जनाएको भन्दै सम्पूर्ण निर्माण टिम, निर्देशक अविनाश बिक्रम शाह तथा कलाकारहरूलाई सम्मान व्यक्त गर्ने निर्णय गरिएको जानकारी दिइएको छ ।
संघका अध्यक्ष उत्तम केसीले नयाँ कार्यसमितिले कलाकारहरूको हकहित, पेशागत सुरक्षा, सामाजिक सम्मान तथा चलचित्र क्षेत्रको संस्थागत विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ । उहाँले चलचित्र क्षेत्रलाई एकताबद्ध, व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन सबै पक्षसँग सहकार्य गरिने उल्लेख गर्नुभएको छ ।




प्रतिक्रिया