नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिन एमाले सचिवालय बैठक बस्दै


काठमाडौं, जेठ ८ । नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नेताहरूको कार्यविभाजनलाई आज अन्तिम रूप दिने तयारी रहेको छ । एमाले पार्टी केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार आज बिहान साढे ११ बजे अध्यक्ष ओलीनिवास गुण्डुमा बैठक बस्नेछ ।

अध्यक्ष ओलीको प्रस्तावमा नेताहरूको जिम्मेवारी हेरफेर गर्ने प्रस्ताव आएमा त्यसमा छलफल गरेर अन्तिम रूप दिइने र त्यसलाई अन्तरपार्टी निर्देशन ९अपानि०मार्फत नेताहरूलाई पठाउने तयारी छ । गत २७ र २९ मंसिरमा भएको ११औँ महाधिवेशनपछि नेताहरूको अस्थायी कार्यविभाजन गरिएको थियो । २१ फागुनको निर्वाचनमा केन्द्रित भएर काम गर्न केन्द्रीय सदस्य तथा पदाधिकारीलाई जिम्मेवारी दिइएको थियो ।

यसपटकको कार्यविभाजनमा एमलेमा मुख्य मानिएका विभागहरूमध्ये सचिव भानुभक्त ढकाललाई संगठन, केन्द्रीय सदस्य शेरबहादुर तामाङलाई स्कुल, विशाल भट्टराईलाई जनसंगठन र डा। सूर्य पाठकलाई प्रचार तथा प्रकाशनको जिम्मेवारी प्रस्ताव गरिएको छ । एक नेताका अनुसार उपाध्यक्ष तथा उपमहासचिवहरूलाई विभागहरूका समन्वय गर्ने र अनुगमनको जिम्मेवारी प्रस्ताव गरिएको छ । अध्यक्ष ओलीको प्रस्तावमा अधिकांश केन्द्रीय सदस्यलाई मिसन स्थानीय चुनावको जिम्मेवारी दिइएको छ ।